रौतहट २७ साउन
गैंडाटार जाने चाँदी नदीमा पुल निर्माण सुरु भएको ९ वर्ष बित्यो । निर्माणको ठेक्का लिएको कम्पनीले भने सम्झौता गरेको समयमा काम गर्न आजसम्म पनि सकेको छैन । काम अघि नबढेपछि ठेकेदारले पुल अलपत्र छाडेपछि स्थानीयले अनसनदेखि विभिन्न बिरोधका कार्यक्रमहरु आन्दोलन स्वरुप गर्दै आएका छन । तर तीन/तीन पटक म्याद थपेको ठेकेदारले अझै काम सम्पन्न गर्न सकेको छैन । पुलको काम समयमा नसकिएको कारण हरेक बर्ष चन्द्रनिगाहपुरबाट गैडाटार जाने र गैडाटारबाट चन्द्रनिगाहपुर आउने क्रममा स्थानियले विभिन्न दुर्घटनाका साथै ज्यान समेत गुमाउँदै आएका छन । पप्पु शिवशंकर जेभीले २५ करोड ३६ लाखमा पुलको ठेक्का लिएको हो । ०७४ असार ३१ मा गरिएको सम्झौता अनुसार ०७६ असार ३१ गतेसम्ममा पहिलो पटक पुल निर्माणको काम सकिनु पर्ने थियो । तर ९ वर्ष बित्न समेत सो पुलको अबस्था अलपत्र अबस्थामा नै रहेको छ । ठेकेदार कम्पनीले समयमै काम सकेको भए गैंडाटार गाउँका स्थानीयलाई आवतजावतमा सुविधा हुने स्थानियवासीको भनाई रहेको छ । सम्झौताअनुसार निर्माण नसकिएपछि पहिलो पटक साधारण खरिद नियमावली (नवौं संशोधन) अनुसार डेढ वर्षका लागि म्याद थपिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । थपिएको म्याद अनुसार ०७७ पुस १४ मा निर्माण सक्नुपर्ने थियो । तर ठेकेदारले कोरोना, लकडाउन लगायत बहाना गर्दै काम गर्न सकेन । कोभिड–१९ को कारण देखाई दोस्रो पटक ०७७ माघ ११ मा ०७८ असार १३ सम्म काम सक्ने गरी ६ महिना म्याद थपियो । ठेकेदारले त्यस अवधिमा पनि काम गरेन । त्यसपछि तेस्रो पटक ०८० असार मसान्तको समय पनि ठेकेदारले गुजार्यो । सडक डिभिजन कार्यालयले पटकपटक निर्माण कम्पनीसँग स्पष्टीकरण पनि सोधेको थियो । ठेकेदार कम्पनीले भने आर्थिक अभाव, बर्खा, निर्माण सामग्रीको अभाव तथा विभिन्न कारणले सम्झौताअनुसार निर्माण नसकिएको बताउँदै आएको छ । हाल पुलमा न त ठेकेदार छ , न त काम गर्ने कामदार नै । छ त केबल पुलमाथी राज्यको रकम खर्चेर ल्याएका बालुवा , गिट्टीहरुका थुप्रोहरु अनि खियाले खाएका रडहरु , जोखिमपुर्ण तरिकाले चादी नदी पार गर्न यात्रा गरिरहेका सवारी साधनसँगै यात्रुहरु………………

अहिले सो पुलको अबस्था तत्काल बन्ने देखिदैन तर कहा कुन निकायले ठेकेदार कम्पनिलाई कारवाही प्रक्रिया अगाडी बढाएर पहली कदम चाली तत्काल पुल निर्माणको कार्य सुचारुमा जोड दिनु पर्ने देखिएको छ । जसका लागी स्थानिय बासिन्दा , स्थानिय , प्रदेश र संघिय सरकार यी तिनै तहका सरकारको ध्यानाकर्षण स्थानिय गराएका छन । तत्काल पुलको काम सुचारु नगरे स्थानियले आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने बताएका छन ।

