रौतहट २१ साउन
मदिरा नियन्त्रण गर्ने क्रममा गएराति सप्तरी प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । मदिरा भण्डारण गरेको राजगड गाउँपालिका वडा नम्बर–२ निवासी लालु यादवको गोली चल्दा सो गोली लागेर मृत्यु भएको मधेस प्रदेश प्रहरीले तराई पोष्टलाई जनाएको छ । मदिरा भण्डार गरिएको ठाउँमा राति सर्च अप्रेसन चलाउँदा मदिरा तस्करसँग झडपमा भएको थियो । झडपमा प्रहरीले चलाएको गोलीबाट यादवको मृत्यु भएको मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले बताउनु भयो । सीमा नजिकबाट भारी मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचना आएको र सोही सूचना अनुसार सर्च अप्रेसन चलाउँदा तस्कर र प्रहरीबिच झडप भएको चतुर्वेदीले बताउनु भयो । तस्करहरुले प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा प्रहार गर्न थालेपछि आत्म रक्षाको लागि प्रहरीले ७ राउन्ड गोली चलाएको चतुर्वेदी बताउनु भयो । प्रहरीले चलाएको गोलीले यादवको तिघ्रामा लागेर घाइते भएका थिए । अस्पतालमा उपचारको लागि लैजाने क्रममा बाटोमा घाइते यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । सप्तरी को राजगड गाउँपालिका वडा नम्बर–२ स्थित कमलपुरमा सर्च अप्रेसन गर्दा तस्कर र प्रहरीबिच भीडन्त भएको थियो । उक्त ठाउँबाट प्रहरीले ८० कार्टुन विभिन्न ब्रान्डको रक्सी बरामद गरेको जनाएको छ ।

