रौतहट, १६ साउन । रौतहटको फतुवा विजयपुर नगरपालिकामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विनियोजित १ करोड ६५ लाख रुपैयाँ बजेट फ्रिज भएको छ । कार्यवाहक मेयर अम्बेया खातुनका श्रीमान् महमद सेराज, प्रमुख प्रशासकीय अधिकृत भरत यादव र लेखा अधिकृत कामेश्वर सहनीबीचको कमिसन विवादकै कारण तीन विद्यालयको पूँजीगत योजना अवरुद्ध भएको हो ।
नगरपालिकाका शिक्षा संयोजक सुबोध यादवका अनुसार वडा नं. ८ स्थित श्री मावि विजयपुर, वडा नं. ४ को श्री मावि टेंग्राहा र वडा नं. ५ को श्री आधारभूत मावि, सन्तपुर दोष्तीयामा भवन निर्माण, पुस्तकालय स्थापना, डिजिटल सामग्री खरिद र कक्षा कोठा स्तरोन्नतिको लागि जनही ५५ लाखका दरले कुल १ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।
तर योजनाको सम्झौताअघि कार्यवाहक मेयरका श्रीमान् सेराजले प्रत्येक विद्यालयबाट १२ लाख रुपैयाँको दरले कमिसन मागेका थिए । विद्यालयका प्रधानाध्यापक र संयोजक यादवले त्यो प्रस्ताव अस्वीकार गरेपछि मोलमोलाइ गर्दै ७ लाख रुपैयाँमा सहमति भएको स्रोतको दाबी छ । सोहीअनुसार दुई विद्यालयबाट नगद र चेकमार्फत रकम लिइएको, तेस्रो विद्यालयबाट पछि लिने सहमति गरिएको जनाइएको छ ।
योजनामा सेराजले १५ प्रतिशत कमिसन सुनिश्चित गरेपछि प्रधानाध्यापकहरूलाई नगरपालिकामा पठाइए पनि प्रमुख प्रशासकीय अधिकृत यादव र लेखा अधिकृत सहनीले सेराजको भूमिका प्रति आपत्ति जनाउँदै योजना सम्झौता रोकेका थिए। स्रोतका अनुसार, ती दुई अधिकारीले आफूहरूलाई पनि कमिसन दिनुपर्ने माग गर्दै कार्यविधि निर्माणमा ढिलाइ गरेपछि अन्ततः बजेट नै फ्रिज भएको हो ।
शिक्षा संयोजक यादवले सामाजिक सञ्जालमार्फत तीव्र असन्तोष व्यक्त गर्दै भनेका छन्, “तीन विद्यालयको भवन निर्माणको रकम फ्रिज हुनु गम्भीर विषय हो । यस्तो कार्य गर्ने व्यक्तिहरु विकासप्रेमी हुन सक्दैनन् ।”
पूर्वमेयर गोपाल यादवले एकलौटी मनपरी र कमिसन लोभकै कारण योजनाको रकम फ्रिज भएको दाबी गरेका छन् । उनका अनुसार समयमै टेन्डर आह्वान गरी काम गराएको भए कुनै समस्या हुने थिएन । तर सेराज, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको ‘कमिसनको खेल’ ले शिक्षा क्षेत्रमै आघात पु¥याएको छ ।
यसैबीच, माओवादी केन्द्रका नगर प्रमुख पदका उम्मेदवार अजय तिमल्सिनाले सो घटनालाई गम्भीर टिप्पणी गर्दै दोषीमाथि छानबिन र कारबाहीको माग गरेका छन्। उनले भने, “यो सामान्य घटना होइन, हजारौं बालबालिकाको भविष्यसँग जोडिएको विषय हो।”
फतुवा विजयपुरमा यसअघि भ्रष्टाचार मुद्दामा दोषी ठहरिएर तत्कालीन मेयर गोपाल यादव पदच्युत भएपछि उपमेयर अम्बेया खातुन कार्यवाहक बनेकी थिइन्। तर स्रोतका अनुसार, खातुन केवल हस्ताक्षर गर्ने व्यक्ति मात्रै बनेकी छन् भने सबै निर्णय र सत्ता सञ्चालनको बागडोर उनका श्रीमान् सेराजले सम्हालिरहेका छन्।
नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरूले सेराजमाथि शिक्षा, स्वास्थ्य र प्रशासनिक क्षेत्रमा समेत अवैध रूपमा हस्तक्षेप गर्दै आएको आरोप लगाउँदै आएका छन्। विद्यालयका प्रधानाध्यापक नियुक्ति तथा संयोजक चयनमा समेत सेराजले ठूलो रकम असुल्ने गरेको जनाइएको छ।
फतुवा विजयपुर नेपाली कांग्रेस रौतहटका सभापति तथा मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवको गृहनगरसमेत हो। तर मन्त्री यादवले यति गम्भीर विषयमा समेत चासो नदिएको जनप्रतिनिधिहरूको गुनासो छ। तिनका अनुसार, मन्त्रीको उदासीनताकै कारण नगरपालिकामा शिक्षा, स्वास्थ्य र विकासका अन्य कार्यक्रम पूर्ण रूपमा प्रभावित भएका छन्।
यता कार्यवाहक मेयर अम्बेया खातुन र उनका श्रीमान् महमद सेराजले सबै आरोप अस्वीकार गरेका छन्। उनीहरूका अनुसार विद्यालय भवनको रकम फ्रिज हुनुमा प्रमुख प्रशासकीय अधिकृत भरत यादव र लेखा अधिकृत कामेश्वर सहनी जिम्मेवार छन्। तर ती दुई अधिकारीसँग सम्पर्क हुन सकेको छैन ।
शिक्षा र साक्षरतामा देशकै पुछारमा रहेको रौतहट जिल्लामा यस्तो प्रकारको योजनामै भ्रष्टाचार देखिनु निन्दनीय मात्र नभई शिक्षा प्रणालीमाथिको विश्वास नै गुमाउने अवस्था हो। नागरिक समाज, सरोकारवाला निकाय र संघीय सरकारको ध्यानाकर्षण गर्दै फतुवा विजयपुरको बेथिति तत्काल अन्त्य गर्नुपर्ने आवश्यकता देखिएको छ ।

