दुर्गा भगवती गाउँपालिकाले हटायो दैनिकी ज्यालादारी तथा स्वयंसेवक कर्मचारी

रौतहट, १ साउन । रौतहटको दुर्गा भगवती गाउँपालिकाले गाउँपालिका अन्तर्गत दैनिकी ज्यालादारी, डोर हाजिरी तथा स्वयंसेवक कर्मचारीहरुलाई एकमुष्ट रुपमा कामबाट हटाउने निर्णय गरेको छ । कार्यपालिका बैठकको निर्णयअनुसार २०८२ साल साउन १ गतेदेखि सबै अस्थायी प्रकृतिका कर्मचारी तथा कामदारलाई हटाउने प्रक्रिया सुरु गरिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नीव कुमार श्रीवास्तवका अनुसार, म्याद सकिएका, लिखित वा मौखिक आदेशमा खटाइएका सबै कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा अन्य डोर हाजिरीमा आधारित कर्मचारीलाई सेवा समाप्त गरिनेछ । यो निर्णय गाउँपालिका मातहतका वडा कार्यालय, विभिन्न शाखा, स्वास्थ्य संस्था, सामुदायिक विद्यालय तथा अस्पतालमा लागू हुनेछ ।

कार्यालयका अनुसार, कुनै पनि शाखा वा निकायले कार्यपालिकाको निर्णयविपरीत कर्मचारीलाई खटाएमा त्यसको व्यक्तिगत जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखले लिनुपर्नेछ।

गाउँपालिकाले लामो समयदेखि ज्यालादारी तथा मौखिक आदेशमा काम गरिरहेका कर्मचारीहरूको कामप्रति असन्तुष्टि बढ्दै गएको, सेवाको गुणस्तर कमजोर देखिएको र सार्वजनिक गुनासो बढेको जनाउँदै यस्तो निर्णय लिएको हो। पालिकामा सयौँको सङ्ख्यामा अस्थायी कर्मचारी कार्यरत रहेको अनुमान छ, जसले पालिकाको तर्फबाट तलब तथा सेवा सुविधा बापत ठूलो रकम खर्च भइरहेको थियो ।

गाउँपालिकाले भनेको छ, “सन्तोषजनक सेवा नपाइएपछि कार्यसम्पादन मूल्याङ्कनको आधारमा अस्थायी कर्मचारी व्यवस्थापनको आवश्यक कदम चालिएको हो।“

स्थानीयवासीले यो निर्णयलाई साहसी र सही दिशातर्फको पहलको रूपमा स्वागत गरेका छन्। “सिर्जनात्मक सुधारका लागि नेतृत्वले कठोर निर्णय लिन सक्छ भन्ने उदाहरण हो यो,“ दुर्गा भगवती गाउँपालिकाका एक स्थानीयवासीले प्रतिक्रिया दिए।

यस निर्णयले भविष्यमा दक्ष, उत्तरदायी र पारदर्शी कर्मचारी व्यवस्थापनतर्फ गाउँपालिका गम्भीर बन्दै गएको संकेत गरेको देखिएको छ।

ताजा समाचार

Related Articles