रौतहट, १ साउन । रौतहटको सदरमुकाम गौरबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लागूऔषध लुकाएर लैजाँदै गरेका अवस्थामा उनीहरुलाई गौर नगरपालिका–१ स्थित शुभम होटलअगाडिबाट नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–८ लक्ष्मिपुर टोलका २३ वर्षीय नितेश कुमार पण्डित र ३२ वर्षीय पिन्टु कुमार यादव रहेका छन् । उनीहरु बीआर–०५–यू–५८६० नम्बरको ग्लाइमर मोटरसाइकलमा सवार थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक कुमार रायका अनुसार लागूऔषध नियन्त्रण ब्युरो वीरगंज र रौतहट प्रहरीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा बुधबार राति करिब ९ बजे उनीहरुलाई पक्राउ गरेको हो । टोलीको नेतृत्व प्रहरी निरीक्षक रामकुमार महतोले गरेका थिए । प्रहरीले पक्राउ परेका युवाको साथबाट प्रतिबन्धित लागुऔषध नाइट्राभेट १२० पत्ता १,८०० पिस ट्याब्लेट, नेट्जीकेयर ९० पत्ता ९०० पिस ट्याब्लेट, नेट्जीकेयर ३० पत्ता ३०० पिस ट्याब्लेट, डायाजेपाम ३०० एम्पुल, फेनार्गन ३०० एम्पुल,
बुप्रेनोर्फिन इन्जेक्सन ३०० एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
त्यस्तै, उननीहरुले प्रयोग गरिएको मोटरसाइकल साथमा फेला परेका दुई थान मोबाइल फोन समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् डिएसपी रायका अनुसार दुबै युवामाथि लागूऔषध सम्बन्धी कसुरमा रौतहट जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । प्रहरीले घटनालाई अत्यन्त गम्भीर रूपमा लिएर उनीहरू कुन नेटवर्कमार्फत लागुऔषधको कारोबारमा संलग्न थिए भन्ने विषयमा गहिरो अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

