वृन्दावन,९ असार । वृन्दावन नगरपालिकाको नगरसभा अदालतको अन्तरिम आदेशमा स्थगित भएपछि नेकपा एकीकृत समाजवादी पार्टी (एस) को वृन्दावन नगर कमिटीले कडा आपत्ति जनाएको छ । नगर उपप्रमुख संगीता देवी रामको कदमप्रति असन्तुष्टि जनाउँदै नेकपा (एस) नगर कमिटीले उक्त कार्यलाई ‘पार्टीविरोधी र जनहितविरोधी’ भनेको छ ।
नगर कमिटीका अध्यक्ष सुरेन्द्र प्रसाद पटेलद्वारा समाजिक सञ्जाल फेसबुकमा जारी वक्तव्यमा भनिएको छ, “नेकपा (एस) बाट उपमेयरमा निर्वाचित भएर विपक्षी पार्टीको इसारामा काम गर्नु, नगरसभा जस्तो लोकतान्त्रिक प्रक्रियालाई रोकिने गरि अदालतको सहारा लिनु, यो कार्य नेकपा (एस) को मूल सिद्धान्त र नीतिको घोर अपमान हो।”
नगर कमिटीले उपप्रमुख राम र नगर प्रमुख विनोदप्रसाद कुर्मीबीच केही मतभेद हुन सक्ने स्वाभाविक मान्दै पनि त्यो मतभेदलाई नगरसभामा हस्तक्षेपको माध्यम बनाउनु गलत भएको जनाएको छ।
“व्यक्तिगत गुनासो वा असहमतिहरूलाई पार्टी संगठनमार्फत वा जनसम्पर्कमार्फत समाधान खोज्नु उपयुक्त थियो,” अध्यक्ष पटेलले बताए, “तर, नगरसभा रोक्ने कदमले समग्र विकास र निर्माण गतिविधिलाई रोक लगाएको छ, जसको मार अन्ततः आम जनताले खेप्नु पर्नेछ।”
नेकपा (एस) वृन्दावन नगर कमिटीले उपमेयर रामलाई लक्षित गर्दै भनेको छ, “हजुरलाई चित्त नबुझेका विषय जनतालाई थाह गराउनु हुन्थ्यो, तर प्रक्रिया रोकेर जनताको अधिकारमै अवरोध गर्नु स्वीकार्य छैन।”
नगर कमिटीले पार्टी नीतिविपरीत गएर जनप्रतिनिधिले यस्ता गतिविधि गर्नु गम्भीर राजनीतिक बेथिति भएको जनाउँदै घटनाप्रति छानबिन तथा संगठनमा आवश्यक कारबाहीको संकेतसमेत गरेको छ।
वृन्दावन नगर कमिटीले यो विषयलाई पार्टीको जिल्ला र प्रदेश संरचनासँग समन्वय गर्दै अनुशासनको दृष्टिले पनि हेर्ने तयारी गरेको जनाइएको छ। अध्यक्ष पटेलले भने, “यो केवल एउटा व्यक्तिको निर्णय नभई पार्टीको साख र नीतिमा आघात पुर्याउने कार्य हो।”
नगर उपप्रमुख संगीता देवी रामद्वारा अदालतमा गएर नगरसभा स्थगित गराउने कदमले वृन्दावन नगरपालिकामा आन्तरिक खिचातानी सतहमा आएको देखिन्छ।
नेकपा एसकै तर्फबाट निर्वाचित जनप्रतिनिधिको यस्तो कदमले संगठनभित्र गहिरो असन्तोष जन्माएको छ ।

