लेखापाल हाजिर गर्न आउँदा कार्यालय प्रमुख बेपत्ता

सर्लाही, ३० जेठ । जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीमा अर्थ मन्त्रालयबाट सरुवा भई आएका लेखापालको हाजिरी प्रक्रियालाई लिएर चर्किएको विवादले नयाँ मोड लिएको छ। लेखापाल हाजिर गर्न कार्यालय पुगेका दिन कार्यालय प्रमुख डा. नवलकिशोर झा अचानक सम्पर्कविहीन भएपछि प्रशासनिक प्रक्रिया अन्यौलमा परेको हो।

असार मसान्त नजिकिएसँगै लेखापाल ज्ञानेन्द्रकुमार यादव पूर्वाधार विकास कार्यालय सर्लाहीबाट सरुवा भएर बिहीबार बिहान जिल्लाको स्वास्थ्य कार्यालयमा हाजिर हुन पुगेका थिए। उनले सरुवा पत्र बुझाएलगत्तै प्रमुख डा. झा आफ्नो कार्यकक्ष छोडेर बाहिरिएका थिए। कार्यालयको टेबलमा चस्मा र साँचो छोडेर निस्किएका झाले मोबाइल फोनसमेत अफ गरेका कारण सम्पर्कमा आउन सकेनन्।

स्वास्थ्य कार्यालय प्रमुखको अचानक अनुपस्थितिले नयाँ लेखापालको औपचारिक हाजिरी प्रक्रिया अड्किएको थियो। लामो समयसम्म प्रमुख सम्पर्कमा नआएपछि कार्यालयका दोस्रो वरिष्ठ कर्मचारी तथा तथ्यांक अधिकृत लालबाबु रायले लेखापाल यादवको हाजिरी गराएका छन्।

लेखापालको अभाव भइरहेका बेला अस्थायी व्यवस्था स्वरूप यसअघि लेखा जिम्मेवारी जिल्ला प्रशासन कार्यालयका लेखापाल रामगणेश यादवले सम्हाल्दै आएका थिए। तर असारको अन्त्यतिर नयाँ लेखापाल पठाइएपछि उक्त जिम्मेवारी आधिकारिक रूपमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको थियो।

यस घटनाले कार्यालय प्रमुख डा. झाको नियतप्रति प्रश्न उठाउन थालिएको छ। मन्त्रालयको निर्णय कार्यान्वयन गर्न नचाहने प्रवृत्तिको आलोचना भइरहेकै बेला प्रमुखको गायब हुनुले घटनालाई थप संकास्पद बनाएको छ।

स्वास्थ्य मन्त्रालयले यस घटनाको गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने स्थानीय कर्मचारीको भनाइ छ। प्रशासनिक काममा यस्तो अवरोध हुनु राम्रो संकेत होइन भनी उनीहरूले औँल्याएका छन्।

ताजा समाचार

Related Articles