वृन्दावन–८ मा वर्षौंदेखि जीर्ण रहेको छठघाटको नगरप्रमुख कुर्मीद्धारा सौन्दर्यकरण कार्य सुरु

वृन्दावन, २१ जेठ । वर्षौंदेखि जीर्ण अवस्थामा रहेको वृन्दावन नगरपालिका–८, बहुअरी पिपरियास्थित ऐतिहासिक छठघाटमा जाने मुख्य सडकको मर्मत, चौरिकरण तथा घाटको सौन्दर्यकरण कार्य औपचारिक रूपमा सुरु भएको छ।

लामो समयदेखि उपेक्षित रहँदै आएको यो छठघाट जाने बाटो वर्षायाममा हिलो र हिउँदमा धुलाम्मे हुने गरेको गुनासो स्थानीयले गर्दै आएका थिए। बाटोको अभावले छठ पर्वमा व्रतालु तथा श्रद्धालुहरूले ठूलो सास्ती व्यहोर्दै आएकोमा अब भने उनीहरू सुगम बाटो हुँदै व्यवस्थित तथा आकर्षक छठघाटमा पूजा–अर्चना गर्न पाउने भएका छन्।

सडक सुधार तथा घाट सौन्दर्यकरण कार्य नगर प्रमुख विनोद प्रसाद कुर्मीको नगर स्तरीय बजेट अन्तर्गत, वहाँकै विशेष सहयोगमा सुरु गरिएको हो। सो कार्यमा वडा नं- ८ का वडा अध्यक्ष रवीन्द्र प्रसाद साहको विशेष पहल तथा नगर कार्यपालिका सदस्य राजेश पासवानको सक्रिय समन्वय रहेको छ।

हाल माटो भर्ने कामको सुरुवात गरिएको छ। आगामी दिनमा ग्राभेल, ड्रेनेज, र रंगरोगनसहित घाटको भौतिक पूर्वाधार थप व्यवस्थित बनाइने वडा कार्यालयले जनाएको छ ।

स्थानीय वासिन्दा र व्रतालुहरू यो पहलप्रति निकै खुसी भएका छन्। स्थानीय वृद्धा सुनीता देवीले भनिन्, “छठको बेला यहाँ सडकमै हिलो भइथ्यो, अब राम्ररी पूजा गर्न पाइने भयो। हामीलाई अब घाट सजिलो भयो।”

नगर प्रमुख विनोद प्रसाद कुर्मीले यो कार्यलाई ‘धार्मिक, सांस्कृतिक र सामाजिक चेतनाको संरक्षण’को रूपमा लिँदै, “स्थानीय स्तरमा रहेका सम्पदाको संरक्षण र व्यवस्थापन नगरपालिकाको प्रमुख दायित्व हो,” भन्नुभयो।

यस कार्यले वृन्दावन नगरपालिका–८ मा धार्मिक पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ। छठ पर्वको महत्त्वलाई ध्यानमा राख्दै घाटको व्यवस्थापन र विस्तारले स्थानीय अर्थतन्त्र र सांस्कृतिक गौरवलाई थप बल पुग्नेछ ।

ताजा समाचार

Related Articles