जनज्योती क्याम्पसमा सांसद तिमल्सिनाको प्रेरक सन्देश

चन्द्रनिगाहपुर, १७ जेठ । जनज्योती बहुमुखी क्याम्पस, चन्द्रनिगाहपुरमा अध्ययनरत स्नातक चौथो वर्ष र स्नातकोत्तर चौथो सेमेष्टरका विद्यार्थीहरूलाई लक्षित गर्दै आज एक विशेष “भेटघाट तथा सम्मान कार्यक्रम” सम्पन्न भयो। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमल्सिना सहभागी भए ।

तिमल्सिनाले युवाहरूलाई विदेशिने मोह त्यागेर आफ्नै भूमिमा अवसर खोज्न आह्वान गर्दै भने, “हामीले रोजगारी सिर्जना गर्ने वातावरण स्वदेशमै बनाउनु पर्छ। तरबार होइन, कलम बलियो हुन्छ—बिद्यार्थीहरू कलमको बलमा अघि बढ्नुपर्छ।”

कार्यक्रममा प्रदेश सभा सदस्य रहिसकेका धनलाल ठोकरले क्याम्पसले पछिल्लो समय विद्यार्थीकेन्द्रित गतिविधिहरू सञ्चालन गर्न थालेकोमा सन्तोष व्यक्त गरे। “यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मबल र उत्साह थप्छ,” उनले उल्लेख गरे।

नगरप्रमुख सञ्जय काफ्लेले क्याम्पसको भौतिक पूर्वाधार विकासमा चन्द्रपुर नगरपालिकाले निरन्तर सहयोग पुर्‍याउँदै आएको जानकारी दिँदै भने, “अब शैक्षिक गुणस्तर सुधार्ने समय हो। गुणस्तरीय शिक्षा नै उज्वल भविष्यको आधार हो।”

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष सञ्जय कार्की, क्याम्पस प्रमुख राजन श्रेष्ठ र विद्यार्थी नेता सुशील अधिकारीले शुभकामना मन्तव्य राखे।

स्ववियु सभापति मोहम्मद नौसाद आलमले “विद्यार्थीहरू क्याम्पसको शान हुन्,” भन्दै यस्ता कार्यक्रमलाई नियमितता दिने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा स्ववियु सचिव शाहिल पुरीले स्वागत मन्तव्य दिए भने सञ्चालन सुप्रिया ढकालले गरिन्।

कार्यक्रमको विशेष क्षणमा स्वर्गीय सञ्चारकर्मी तथा क्याम्पसका पूर्व विद्यार्थी फणिदेव महतका दुई छोराको शिक्षाका लागि स्ववियुबाट रु. १५,५५५ आर्थिक सहयोगको घोषणा गरियो।

विद्यार्थीहरूलाई खादा र मायाको चिनो प्रदान गरिएको कार्यक्रममा स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूको भनाइमा, कार्यक्रममा सहभागिताले क्याम्पसप्रति सकारात्मक भावना थपिएको र भविष्यप्रति आशावादी सोच विकास भएको छ।

ताजा समाचार

Related Articles