मधेशमा सडक मानवमुक्त अभियान : २९२ जनाको उद्धार,१२५ को पारिवारिक पुनर्मिलन

वीरगन्ज, १६ जेठ । “सडक मानवमुक्त मधेश” भन्ने नाराका साथ अघि बढिरहेको मानव सेवा आश्रम, वीरगन्जले विगत आठ वर्षमा करिब तीन सयजना बेसहारा नागरिकको उद्धार गरेको छ। मानवता र सेवा भावलाई केन्द्रमा राखेर सञ्चालन हुँदै आएको आश्रमले सडकमा जीवन यापन गर्न बाध्य अशक्त, असहाय र सहयोगापेक्षी व्यक्तिहरूलाई संरक्षण गर्दै आएको छ।

२०७४ साल जेठ १५ गते नारायणी अस्पताल परिसरबाट एक अपाङ्ग युवक शंकरको उद्धारसँगै सुरुवात भएको यस सेवाले आजसम्म २९२ जना सडक मानवको उद्धार गरिसकेको छ। तीमध्ये १२५ जनाको पारिवारिक पुनर्मिलन सफलतापूर्वक सम्पन्न भएको छ भने ८४ जनालाई समुदायमै पुनःस्थापित गरिएको मानव सेवा आश्रम वीरगन्जका संस्थापक देवेश गुप्ताले जानकारी दिए ।

“यो केवल उद्धार मात्र होइन, जीवन फर्काउने प्रयास हो,” गुप्ताले भने, “मानसिक र शारीरिक रूपले कमजोर, सहयोगापेक्षी मानवहरूलाई हामी संरक्षण, उपचार र पुनर्मिलनको माध्यमबाट नयाँ जीवन दिन खोजिरहेका छौँ।”

आश्रममा हाल ४७ जना महिला, पुरुष र बालबालिका आश्रित छन्। तीमध्ये धेरैजसो मानसिक रूपमा कमजोर, सडकमा भेटिएका, वा आफ्ना आफन्त गुमाएका व्यक्ति छन्।

स्थापना कालदेखि २०७९ सम्म भारतीय महावाणिज्य दूतावास पछाडिको घर भाडामा लिएर सेवा सञ्चालन गरिएकोमा २०८० सालदेखि सिर्सियास्थित वृद्धाश्रमको भवनमा अस्थायी रूपमा आश्रम सरेको छ।

वीरगन्ज महानगरपालिकाले प्रदान गरेको वीरगन्ज–१५ लक्ष्मणवास्थित १४ कठ्ठा जग्गामा करिब २० करोड रुपैयाँ लागतमा सुविधासम्पन्न स्थायी भवन निर्माण भइरहेको छ। सो भवन निर्माण सम्पन्न भएपछि आश्रय खोजिरहेका थप व्यक्तिहरूलाई समेट्न सहज हुने आश्रमको विश्वास छ।

वीरगन्जमा सुरु भएको अभियान अहिले प्रदेशभर विस्तारको तयारीमा रहेको छ। गुप्ताका अनुसार मधेशका अन्य शहरहरूमा पनि शाखा विस्तार गरी प्रत्येक जिल्लामा मानव सेवा केन्द्र स्थापना गर्ने दीर्घकालीन योजना रहेको छ।

“हामी चाहन्छौँ- खुला आकाशमुनि कोही पनि जीवन बिताउन बाध्य नहोस्,” गुप्ता भन्छन्।

ताजा समाचार

Related Articles