रौतहट १० जेठ
रौतहट चन्द्रनिगाहपुरका स्वर्गीय पत्रकार फणिदेव महतको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरेको छ । प्रेस चौतारी नेपाल मधेश प्रदेश समितिको बिहीबार बर्दिबासमा सम्पन्न पहिलो बैठकले महतको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो । महत प्रेस चौतारी नेपाल मधेश प्रदेशका संस्थापक अध्यक्ष हुनु हुन्थ्यो । उहाको बैशाख ३० गते अल्पायुमा निधन भएको थियो । महतको स्मृतिमा स्थापना गरिएको २५ हजार राशीको उक्त पुरस्कार प्रत्येक वर्ष प्रदान गर्ने गरिने प्रदेश समितिका अध्यक्ष लालबाबु शेखले जानकारी दिनु भएको छ । उक्त पुरस्कारका लागि प्रेस चौतारीले अक्षय कोष समेत स्थापना गर्ने भएको छ । कोषलाई सबल बनाउन अध्यक्ष शेखले मधेशका प्रत्येक जिल्लाले ५० हजार र प्रदेश समितिले एक लाख सहयोग गर्ने गरी बैठकमा प्रस्ताव राखेका थिए । उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले अनुमोदन गरेको थियो । सोही बैठकले प्रेस चौतारी नेपाल मधेश प्रदेश समितिले फागुनमा मधेश सञ्चार सम्मेलन गर्ने भएको छ । सम्मेलन वीरगन्जमा आयोजना हुने केन्द्रीय सदस्य एवम् मधेश प्रदेश इन्चार्ज अच्युत पौडेलले बताउनु भयो । प्रेस चौतारी मधेश प्रदेशले एक वर्षे कार्ययोजना बनाएर अघि बढेको र वार्षिक कार्ययोजना उत्साहजनक ढंगले सफल बनाउने इन्चार्ज पौडेलले जिकिरि गर्नु भयो ।

