चन्द्रनिगाहपुर,२४ बैशाख । रौतहटको चन्द्रपुर नगरपालिका–४, गौर रोडमा ‘फ्युचर एजुकेसन कन्सल्टेन्सी’ औपचारिक रुपमा सञ्चालनमा आएको छ। जापानिज भाषा अध्ययन तथा जापान अध्ययन र रोजगारीका लागि जाने इच्छुक विद्यार्थी तथा कामदारहरूलाई लक्षित गर्दै सो कन्सल्टेन्सी स्थापना गरिएको हो।
सञ्चालक रितेश पटेलका अनुसार, कन्सल्टेन्सीमार्फत इच्छुक व्यक्तिहरूले जापानिज भाषा अध्ययन गर्न सक्नेछन्। त्यस्तै, भाषा दक्षता प्राप्त गरेपछि अध्ययन भिसा (Student Visa) वा कामदार भिसा (Working Visa) लिएर जापान जान सहयोग गरिनेछ।
“हामीले अन्तर्राष्ट्रिय स्तरको भाषा शिक्षा दिनेसँगै जापान पठाउने प्रक्रियामा पारदर्शिता र गुणस्तर कायम राख्ने प्रतिबद्धता लिएका छौं,” सञ्चालक पटेलले बताए। उनले जापानको विभिन्न शिक्षण संस्थाहरूसँग सहकार्य गरी अध्ययनका अवसर सिर्जना गरिने बताए।
राष्ट्रिय वाणिज्य बैंकको छेउमै खुलेको फ्युचर एजुकेसन कन्सल्टेन्सीले प्रारम्भिक चरणमा जापानिज भाषा कक्षा सञ्चालनमा ल्याएको छ।
विदेशमा अध्ययन तथा रोजगारीको अवसर खोज्ने युवाहरूका लागि चन्द्रनिगाहपुरमै गुणस्तरीय भाषा अध्ययन र परामर्श सुविधा उपलब्ध गराउने उद्देश्यले कन्सल्टेन्सी सञ्चालनमा ल्याइएको बताइएको छ।

