रौतहट, २२ बैशाख । रौतहटको वृन्दावन नगरपालिका वडा नं.-६ हर्षाहा स्थित संघीय सहरी तथा वस्ती विकास कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको सभागृह र हर्षाहा–मनहरी जोड्ने रिङ रोडको शिलान्यास कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
सोमबार सम्पन्न उक्त शिलान्यास कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा पूर्व विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्का, मधेस प्रदेशसभा सदस्य कनिष पटेल र वृन्दावन नगरपालिकाका नगरप्रमुख बिनोद प्रसाद कुर्मीको प्रमुख उपस्थित रहेको थियो।
उक्त अवसरमा नेतृ खड्काले स्थानीय पूर्वाधार विकासका लागि संघीय सरकारले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै सभागृह र रिङ रोडले हर्षाहाको भौतिक विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिन्। उनले भनिन्, “जनताको सहज जीवन र आवागमन सुविधा सुनिश्चित गर्नु नै हाम्रो प्रमुख लक्ष्य हो।”
त्यसैगरी, प्रदेशसभा सदस्य कनिष पटेलले प्रदेश सरकारले पनि स्थानीय विकास योजनामा सक्दो सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै सो आयोजना तत्काल सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनमा पहल गरिने बताए।
नगरप्रमुख कुर्मीले सभागृह निर्माणले स्थानीय सामाजिक र सांस्कृतिक गतिविधिहरूलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे । उनले भने, “नगरपालिका विकासको यात्रामा हामी सबैको सहभागिता र सहकार्य जरुरी छ।”
शिलान्यास कार्यक्रममा पार्टीका विभिन्न नेता, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा बिभिन्न वक्ताहरूले हर्षाहा क्षेत्रमा भइरहेका विकासका पहल र चुनौतीहरूबारे धारणा राखेका थिए।
सभागृह र रिङ रोडको निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाले सार्वजनिक सभा, बैठक, सांस्कृतिक कार्यक्रम सञ्चालनमा सहजता प्राप्त गर्ने र यातायात पूर्वाधारले व्यापक गति लिने अपेक्षा गरिएको छ ।

