भारतीय अभिनेत्री नोरा फतेही नेपाल आउँदै

काठमाडौं,१८ बैशाख । बलिउडकी चर्चित अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही आउँदो जेठ ३ गते नेपाल आउने भएकी छन्। सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षाबाट बञ्चित बालबालिकाका लागि काम गर्दै आएको संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’ को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेकी हुन्।

कार्यक्रम आयोजक वर्ल्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरका अनुसार उक्त शोमार्फत मनोरञ्जनको माध्यमबाट सामाजिक कार्यलाई सहयोग पुर्‍याउने लक्ष्य लिइएको हो। फतेहीको साथमा नेपालका चर्चित कलाकारहरू पनि कार्यक्रममार्फत आफ्नो प्रस्तुति दिनेछन्।

नेपाली कलाकारमध्ये गायक दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, समर्पण लामा तथा ‘भ्वाइस अफ नेपाल’ सिजन ६ का फाइनलिष्ट इन्द्रकला राई, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, प्रशेस पाण्डे लगायतले कार्यक्रमलाई रङ्गीन बनाउनेछन्।

इभेन्ट म्यानेजर मनिष कार्कीले पत्रकार सम्मेलनमा जानकारी गराउँदै मुम्बईबाट नोरा फतेहीसँगै २० बढी डान्स टिम नेपाल आउने बताए। कार्यक्रमको व्यवस्थापन मनु मिडिया प्रालिले गर्नेछ।

नोरा फतेहीले नेपाल आउने विषयमा श्रव्यदृश्य सन्देशमार्फत प्रतिक्रिया दिँदै भनिन्, “यो मेरो पहिलो नेपाल यात्रा हो। यहाँबाट पाइरहेको मायाप्रति आभार व्यक्त गर्छु। काठमाडौँमा तपाईंहरूसँग भेट हुन उत्साहित छु।”

कार्यक्रम जेठ ३ गते (मे १७, २०२५) बौद्धस्थित हायात होटलको चौरमा ‘नोरा फतेही लाइभ इन नेपाल’ शीर्षकमा हुनेछ। टिकट ‘खल्ती’ एपमार्फत २ हजारदेखि १६ हजार रुपैयाँसम्म विभिन्न वर्गमा किन्न सकिने आयोजकले जनाएका छन्।

फतेहीका लोकप्रिय गीत ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ नेपालमा पनि अत्यधिक चर्चामा छन्। आयोजकहरूको भनाइमा यस्तो अन्तर्राष्ट्रिय प्रस्तुति केवल मनोरञ्जनका लागि मात्र नभई नेपालको पर्यटन प्रवर्द्धनमा समेत सहयोगी हुनेछ।

ताजा समाचार

Related Articles