सर्लाही, १६ वैशाख । सर्लाहीको धनकौल गाउँपालिकामा कृषि बाटो निर्माणको क्रममा व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार, निर्माण कार्यमा प्राविधिक लागत अनुमान विपरीत कार्य गर्दै सरकारी कोषमा रु ७ लाख ७९ हजार २०५ बराबरको क्षति पुर्याइएको पाइएपछि सो मुद्दा दायर गरिएको हो। प्रमुख प्रशासकीय अधिकृत कृष्णमोहनप्रसाद साह, इञ्जिनियर उपेन्द्रप्रसाद साह, सहायक पाँचौँ मोहम्मद रफिक, र सबइञ्जिनियर शशिञ्जनकुमार सिंहविरुद्ध मुद्दा अघि सारिएको आयोगले जनाएको छ।
यसबाहेक, परियोजनामा संलग्न लेखापाल अभयकुमार साह, उपभोक्ता समिति अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह, कोषाध्यक्ष सुरतिया कुमारी र वडा नं ६ का वडाध्यक्ष श्यामबाबु साह पनि मुद्दामा प्रतिवादी बनाइएका छन्।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, प्रारम्भिक अनुसन्धानमा सार्वजनिक धनको दुरुपयोग र प्राविधिक मापदण्डको उल्लङ्घन भएको पुष्टी भएपछि मुद्दा दायर गरिएको हो।
धनकौल गाउँपालिकामा निर्माणको नाममा भ्रष्टाचार फैलिएको भन्दै स्थानीयवासीले लामो समयदेखि गुनासो गर्दै आएका थिए। आयोगले सोही सन्दर्भमा प्रारम्भिक छानबिन थालेको थियो।

