रौतहट, ७ बैशाख । रौतहटको मौलापुर नगरपालिकाबाट अवैध रुपमा नेपाल भित्र्याइएका १० लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यको मोतिहारी जिल्लास्थित कुन्डवा चैनपुर बजार निवासी २३ वर्षीय राज किशोर ठाकुर रहेका छन् ।
ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रहरी निरीक्षक प्रवेश कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले आइतबार दिउँसो मौलापुर–६ स्थित पथराबुधराम क्षेत्रबाट ठाकुरलाई नियन्त्रणमा लिएको हो । ठाकुर सवार बिआर ०५ एसी ९४७७ नम्बरको मोटरसाइकलको जाँच गर्ने क्रममा सिटमुनी लुकाइएको झोलाबाट उक्त रकम फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिलीप घिमिरेका अनुसार रकमको स्रोत नखुलेको तथा औपचारिक कागजात प्रस्तुत गर्न नसकेको कारणले ठाकुरलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाइएको छ ।
एसपी घिमिरेले भने, “हामीले सशक्त रुपमा हुण्डी र तस्करी नियन्त्रण अभियान सञ्चालन गरिरहेका छौं । पछिल्लो समयमा अवैध रुपमा सीमावर्ती क्षेत्रबाट भित्रिने नगद र अन्य तस्करीजन्य वस्तुहरू नियन्त्रण गर्ने प्रयास जारी रहेको उनले बताए ।

