छोरीको रहस्यमय मृत्यु भएपछि न्याय खोज्दै ठाकुर परिवार, प्रहरीले उजुरी अस्वीकार गरेको आरोप

रौतहट, ५ वैशाख । रौतहटमा एक विवाहित युवतीको शंकास्पद मृत्यु प्रकरणमा प्रहरी निष्क्रिय रहेको भन्दै पीडित पक्षले आक्रोश व्यक्त गरेका छन् । मृतक युवती अल्का ठाकुरको परिवारले शुक्रबार गरुडामा पत्रकार सम्मेलन गर्दै छोरीको मृत्यु रहस्यमय भएको र प्रहरीले घटना ढाकछोप गर्न खोजेको गम्भीर आरोप लगाएका हुन् ।
रौतहटको गढीमाई नगरपालिका–४, संग्रामपुर निवासी रामकिशोर ठाकुरले गत वैशाख १ गते छोरीको अवस्था नाजुक भएको सूचना फोनमार्फत पाएको बताउँदै घटना बारे जानकारी गराए । उनले छोरी अल्का ठाकुरको शव पंखामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी आफन्तमार्फत पाएको बताए ।
२०७६ साल जेठ ५ गते रौतहटकै दुर्गा भगवती गाउँपालिका–३, मत्सरीका संजीव झासँग अल्काको विवाह भएको थियो । ठाकुरका अनुसार सुरुमा जेठो छोरासँग विवाह तय भए पनि प्रेम सम्बन्धका कारण घरबाट भागेपछि कान्छो छोरासँग विवाह गरिएको थियो । विवाहमा दाइजो नलिने सहमति भए पनि झन्डै २२ लाख रुपैयाँ खर्च गरिएको र पछि गाडी किन्न भन्दै साढे ३ लाख रुपैयाँ पनि ज्वाइँलाई दिइएको उनले बताए ।
त्यस्तै, अल्काकी श्रीमान संजिप गत वर्ष जापान जान लागेपछि ७ लाख रुपैयाँ सहयोग गरेको पनि ठाकुरले खुलासा गरे । तर, विवाहपछि ६ वर्षसम्म पनि वैवाहिक सम्बन्ध दर्ता नभएको र पारिवारिक सम्बन्ध खासै सुमधुर नभएको गुनासो गरे ।
मृतकका अभिभावकका अनुसार शव फेला परेपछि उनीहरु घटनास्थलमा पुगेका थिए, जहाँ प्रहरी परिचालन गरी सुरक्षा घेरा बनाइएको थियो । हामीले शव गौरमा पोस्टमार्टम नगरी काठमाडौं लैजान माग गरेका थियौं, त्यो माग त पूरा भयो तर काठमाडौंबाट ल्याएपछि हाम्रो छोरालाई शव नदिई जबरजस्ती झा परिवारलाई बुझाइयो, ठाकुरले गुनासो गरे ।
मृतककी आमा अनिता कुमारी ठाकुरका अनुसार जब माइती पक्षले शव सद्गतिमा लैजान खोज्दा प्रहरीले लाठी चार्जसमेत गरेको थियो । हाम्रो उजुरी लिन प्रहरी तयार छैन, फोटो खिच्न पनि दिइएन,” पत्रकार सम्मेलनमा रुँदै भनिन् अनिता ।
यस प्रकरणमा जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी निरीक्षक उमाशंकर गुप्ताले भने घटना गम्भीर भएको स्वीकार गर्दै अनुसन्धान भइरहेको दाबी गरे । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्र जाहेरी दर्ता हुन्छ, उनले भने, हालसम्म हामी अनुसन्धानमै केन्द्रित छौं ।
तर पीडित पक्षले प्रहरी झा परिवारसँग मिलेर घटनालाई आत्महत्या ठहर्याउने प्रयास गरिरहेको आरोप लगाएका छन् । यो हत्या हो, हामी न्यायको माग गरिरहेका छौं तर प्रहरी नै अन्याय गरिरहेको छ,” मृतकका बुबा रामकिशोर ठाकुरले भने ।
घटनाले स्थानीय मात्र होइन, राष्ट्रिय स्तरमा समेत चासो बटुलेको छ । मानव अधिकारकर्मीहरूले निष्पक्ष र प्रभावकारी अनुसन्धानको माग गर्दै प्रहरीलाई पारदर्शी बन्न आग्रह गरेका छन् । मानव अधिकारकर्मी सविता ठाकुर भन्छिन्, यो संवेदनशील मुद्दा हो, प्रहरी निष्पक्ष बन्नैपर्छ । पोस्टमार्टम रिपोर्ट पर्खने नाममा न्याय ढिलाइ हुनु हुँदैन ।
कानुनविद् एवम् अधिवक्ता विजय यादवका अनुसार, शंकास्पद मृत्युका घटनामा प्रहरीलाई उजुरी लिने कानुनी दायित्व हुन्छ । प्रारम्भिक उजुरी नलिनु कानुनको उल्लङ्घन हो । पीडित परिवारले छोरीको मृत्यु रहस्यमय भएको, विवाहको कानुनी प्रक्रिया पूरा नगरिएको, आर्थिक शोषण भएको र अब प्रहरीबाट न्यायको आशा गर्न नसकिने अवस्था आएको भन्दै न्यायिक छानबिनको माग गरेका छन् ।

ताजा समाचार

Related Articles