चन्द्रनिगाहपुरको जगत रिसोर्टमा खुलेआम यौनधन्दा, भारतीयको हतियार प्रदर्शनले स्थानीय आक्रोशित

 रुपेद्र पटेल
रौतहट,१ बैशाख ।  रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्टमा खुलेआम यौनधन्दा सञ्चालन भइरहेको गुनासो तीव्र बन्दै गएको छ। चन्द्रपुर–५, चिडियादह मुख्य सडकमा रहेको सो रिसोर्टले “स्पा र मसाज” सेवा संचालनको नाममा खुलेआम यौन व्यवसाय गर्दै आएको स्थानीयवासीहरूले बताएका छन्।

स्थानीयका अनुसार, झण्डै एक वर्षदेखि सो रिसोर्टले देशका विभिन्न स्थानबाट यौन धन्दामा संलग्न युवतीहरू बोलाएर भारतीय र स्थानीय ग्राहक लक्षित गरी यौनधन्दा सञ्चालन गर्दै आएको छ । होटलमा आउने अधिकांश ग्राहकहरू भारतीय नागरिक रहेको र उनीहरूका लागि विशेष व्यवस्था गरिएको बताइएको छ ।
मसाजको नाममा सो होटलले ग्राहकको बडीमा तेल लगाएर यौन धन्दा सञ्चालन गर्दै आएको गुनासो बढेको छ । होटेलको यो गतिविधिका कारण सर्वसाधारण आक्रोशित बनेका छन्।
यसैबीच, आइतबार राति सोही होटलमा एक भारतिय नागरिकले स्वीमिङ पुलमा बन्दुक देखाएर बसेको भिडियो सार्वजनिक भएपछि विवाद झन् चुलिएको छ। सो भिडियो सार्वजनिक भएपछि होटल सञ्चालकमाथि चौतर्फी आलोचना सुरु भएको छ। स्थानीयहरूका अनुसार, कानुनी राज्यमा गैरनेपाली नागरिकले खुला रुपमा हतियार प्रदर्शन गर्नु प्रशासनप्रति नै खुला चुनौती हो।

स्थानीय सञ्चारकर्मी ओमकिशोर चौधरीका अनुसार, हतियार देखाउने ती नागरिकको विषयमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई जानकारी दिइएको थियो। जानकारीपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले छानबिन गर्दा सो हतियार वास्तवमा खेलौना बन्दुक रहेको र त्यसलाई नियन्त्रणमा लिइएको डिएसपी राजकुमार राईले जानकारी दिए।

प्रहरीको यो निष्कर्षपछि पनि स्थानीयहरू सन्तुष्ट छैनन्। उनीहरूको भनाइमा, आर्थिक मन्दीको असरसँगै राजमार्ग क्षेत्रमा रहेका ठूलो लगानीका होटलहरूले यौनधन्दा बढाउन थालेका छन्। साना होटलहरूमा प्रहरीले चाँडो निगरानी गरे पनि ठूलो लगानीका होटलप्रति बेवास्ता गर्दा यस्ता गतिविधि मौलाएको आरोप छ।
चन्द्रनिगाहपुर मात्र होइन, सर्लाहीको बागमती, हरिओन, नयाँरोड, लालबन्दी लगायतका राजमार्गमा रहेका होटलहरूमा पनि खुलेआम यौनधन्दा सञ्चालन भइरहेको स्थानीयहरूले बताएका छन्। प्रहरी समक्ष पटक–पटक उजुरी दिइए पनि खासै कारबाही नभएको उनीहरूको गुनासो छ।

ताजा समाचार

Related Articles