काठमाडौं, २० चैत । नेपाल प्रहरीले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा उत्तेजित भिडलाई नियन्त्रण गर्न गोली चलाउनुपरेको स्पष्टीकरण दिएको छ ।
प्रहरीले बुधबार आयोजित पत्रकार सम्मेलनमा घटनाको विवरण सार्वजनिक गर्दै स्थिति नियन्त्रणबाहिर गएपछि बाध्य भएर गोली चलाएको जनाएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले पत्रकार सम्मेलनमा बोल्दै चैत १५ गते दिउँसो २ः५४ बजे पहिलो पटक गोली चलाउनुपरेको बताए ।
उनका अनुसार, सो दिन १२ः५० बजे पहिलो पटक अश्रुग्यास प्रयोग गरिएको थियो। तर, दुर्गा प्रसाईँको नेतृत्वमा रहेको करिब २ देखि ३ हजारको भिडले कार्यक्रमस्थलतर्फ नगई प्रहरीको घेरा तोड्ने प्रयास गरेको उनले उल्लेख गरे ।
‘उत्तेजित भिडले धेरै घरमा तोडफोड गर्यो। अवस्था नियन्त्रणमा लिन गोली चलाउनुपर्ने बाध्यता आइपर्यो,’ डीआईजी आचार्यले भने ।
उनले प्रदर्शनकारीको आक्रामक व्यवहारका कारण घटना भएको र प्रहरीले न्यूनतम बल प्रयोगको नीति अपनाउँदा पनि स्थिति बिग्रिएको दाबी गरे ।
तीनकुनेमा भएको सो प्रदर्शन राजावादी समूहले आयोजना गरेको थियो । उक्त घटनामा दुई जनाको ज्यान गएको थियो भने ठूलो संख्यामा सम्पत्ति नष्ट भएको प्रहरीको भनाइ छ।
प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ।

