धनुषामा अवैध रूपमा सञ्चालित निजि विद्यालयहरू बन्द

जनकपुर,२० चैत । धनुषाको मुखियापटी गाउँपालिकामा बिना दर्ता सञ्चालनमा रहेका एक दर्जन निजी विद्यालय बन्द गरिएका छन्। पटकपटक सूचना जारी गर्दा पनि कानुनी प्रक्रियामा नआएपछि गाउँपालिकाले बाध्य भएर ती विद्यालय बन्द गर्नुपरेको हो।

गाउँपालिका अध्यक्ष जयकुमार यादवका अनुसार न्यू स्काइ, तराई चाइल्ड डेभलपमेन्ट, गङ्गालाल शिशु पाठशालालगायतका विद्यालय बिना अनुमति सञ्चालनमा रहेकाले कारबाही गरिएको हो। स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने भएकाले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न कदम चालिएको उनले बताए।

गाउँपालिकाले अभिभावकलाई गैरकानुनी रूपमा सञ्चालनमा रहेका विद्यालयहरूमा आफ्ना बालबालिकालाई नपठाउन आग्रह गरेको छ। साथै, विद्यालय सञ्चालकलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी विद्यालय दर्ता गर्न निर्देशन दिइएको छ। पालिकाले शिक्षा क्षेत्रको सुधारका लागि यस्ता कदम भविष्यमा पनि निरन्तर लिने प्रतिबद्धता व्यक्त गरेको छ।

ताजा समाचार

Related Articles