काठमाडौं, १० चैत ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोप्रति आपत्ति जनाएका छन । प्रचण्डले कुलमानलाई हटाएर गलत गरेको र आपत्तिजनक विषय भएको बताउनु भएको छ । ’देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा ऊर्जा विज्ञका रुपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट उज्यालो नेपाल निर्माण गर्न सफल भएको जन–जनमा जानकारी छ । उनै कुलमान घिसिङलाई बाँकी बक्यौता जनताको पैसा हो, उठाउनु पर्छ भनेको कारणले लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो । तर आज भने सरकारले मन्त्रीपरिषद् बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर संचारमाध्यमबाट थाहा हुन आएको छ । आशा गरौं यो खबर असत्य सावित होस्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । उनले यो खबर सत्य भएमा सरकारले गलत गरेको दाबी गरेका छन । ’यदि यो खबर सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ । कथित दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दछु,’ उनले भनेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई निर्देशक बनाएको छ ।

