रुपेन्द्र पटेल
रौतहट,२६ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरु अनावश्यक रुपमा सडक तताइरहेको टिप्पणी गरेका छन् ।
सोमबार रौतहटको चन्द्रनिगाहपुरस्थित होटल हिमालयनमा आयोजित प्रेस चौतारी नेपालको दोस्रो प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले राजतन्त्रको वकालत गर्दै सडक प्रदर्शन गर्नु आवश्यक नरहेको बताए ।
महासचिव पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानअनुसार राज्यबाट सेवा–सुविधा पाइरहेको उल्लेख गर्दै भने, संविधानले परिभाषित गरेका अधिकार पूर्वराजालाई दिइएको छ । यस्तो अवस्थामा राजावादीहरुले संविधानबाहिर गएर होहल्ला गर्नुको औचित्य छैन ।
उनले राजतन्त्रभन्दा लोकतन्त्र जनमुखी रहेको दाबी गर्दै भने, विकासको सवालमा जनस्तरमा आवश्यक प्रचारप्रसार हुन नसक्दा शासन प्रणालीमाथि प्रश्न उठेको देखिन्छ ।
पोखरेलले मधेसका जनताबीच एमाले लोकप्रिय हुँदै गएको दाबी गर्दै भने, अहिलेको समयमा मधेसी जनताको पहिलो रोजाइ एमाले बनेको छ ।
कार्यक्रममा नेकपा (एमाले) का मधेस प्रदेश इञ्चार्ज लिलानाथ श्रेष्ठले पार्टीका विकास गतिविधिबारे आम सञ्चारमाध्यमहरू चुकेको आरोप लगाए । उनले भने, एमाले सरकारले गरेका विकासका कामहरुको उचित प्रचार नभएकाले जनता पूर्ण रुपमा जानकारीमा छैनन् ।
महासचिव पोखरेलले हाल भइरहेको राजावादी प्रदर्शनको औचित्यमाथि प्रश्न उठाउँदै लोकतान्त्रिक व्यवस्थाले मात्र देशलाई स्थायित्व दिन सक्ने धारणा राखे । उनले नागरिकलाई लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सकारात्मक भूमिका खेल्न आग्रह गरे ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत लगायतका पदाधिकारी, एमाले नेताहरु तथा स्थानीय कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

