जनकपुरधाम, २५ फागुन । मधेश प्रदेश सरकारका विभिन्न मन्त्रालयहरूमा योजना खरिदबिक्रीको आरोप लागिरहेका बेला नेपाली कांग्रेस संसदीय दलले आफ्नो पार्टी यस्ता क्रियाकलापमा संलग्न नरहेको स्पष्ट पारेको छ।
नेपाली कांग्रेस मधेश प्रदेशका सभापती कृष्णप्रसाद यादवले आइतबार एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमहरूमा आइरहेका समाचारहरूबारे पार्टीले गम्भीर ध्यानाकर्षण गरेको जनाएका छन्। उनले सरकारमा संलग्न कुनै पनि दल वा व्यक्ति अनियमिततामा संलग्न भए त्यसको स्पष्ट अनुसन्धान हुनुपर्ने धारणा राखेका छन्।
यादवले भने, ‘‘मधेश प्रदेश सरकारमा नेपाली कांग्रेससहित विभिन्न दलहरूको गठबन्धन रहेको छ। यदि कुनै मन्त्रालयमा योजना खरिदबिक्री वा सरकारी कोषको दुरुपयोग भएको प्रमाणित भएमा नेपाली कांग्रेस त्यसको पक्षधर हुने छैन।’’
उनले योजनाहरूको कार्यान्वयन पारदर्शी हुनुपर्नेमा जोड दिँदै सत्ता साझेदार दलका नेताहरूलाई समेत सचेत गराएका छन्। साथै, यस्ता अनियमित गतिविधिहरूमा संलग्न जो–कोहीलाई कारबाहीको दायरामा ल्याउन आवश्यक कदम चाल्न प्रदेश सरकारलाई आग्रह गरेका छन्।
‘‘हामी सुशासन र पारदर्शिताका पक्षधर हौं। कुनै पनि विकृति वा अनियमितताको साक्षी भएर बस्ने पक्षमा कांग्रेस छैन,’’ यादवले विज्ञप्तिमा उल्लेख गरेका छन्।
उनले सत्तासाझेदार दलहरूसँग आवश्यक परामर्श गरी भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन ठोस निर्णय लिने प्रतिबद्धता व्यक्त गरेका छन्।


