चन्द्रपुर, १२ फागुन । प्रादेशिक औद्योगिक मेला चौथो चन्द्रपुर महोत्सव २०८१ आफ्नो उत्कर्षमा पुग्दै गर्दा आज आठौं दिनको मुख्य आकर्षण चर्चित गायक दुर्गेश थापाको प्रस्तुति हुने भएको छ । महोत्सवलाई अझ मनोरञ्जनपूर्ण बनाउन उनलाई डेविड शंकर, चर्चित हास्य कलाकार खबपु चञ्चल मगर, नृत्यांगनाहरू तथा स्थानीय कलाकारहरूले पनि साथ दिनेछन्।
चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदय सापकोटा (सुरेन) का अनुसार महोत्सवमा दर्शकहरूको उपस्थिति दिन प्रतिदिन बढ्दै गएको छ । सांस्कृतिक विविधता, मनोरञ्जन र व्यापारिक प्रदर्शनीलाई समेट्दै आएको यस महोत्सवमा स्थानीय व्यवसायीहरूका लागि पनि राम्रो अवसर सिर्जना भएको छ।
आजको विशेष प्रस्तुतिले महोत्सवलाई झन् रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ। पछिल्लो समय दुर्गेश थापाका लोकप्रिय गीत दुश्मन हेर्याको हेरै जस्तै बीच बजारी, गोली सुँईं, बोल माया लगायतका धुनमा दर्शकहरू झुम्ने अनुमान गरिएको छ ।
फागुन ५ गतेबाट सुरु गरिएको चौथो चन्द्रपुर महोत्सव १७ गतेसम्म सञ्चालन हुनेछ, जसमा विभिन्न चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ । आयोजकले सबैलाई महोत्सवमा उपस्थित भएर मनोरञ्जन लिन आह्वान गरेका छन् ।

