रौतहट, ११ माघ । सर्लाही र रौतहटलाई जोड्ने बागमती खोलाको पुल मर्मत कार्य सम्पन्न भएसँगै पुलबाट सवारी साधन पुनः सञ्चालनमा आएको छ। पुलको ‘ब्यारिङ प्याडेस्टल’ मा क्षति पुगेर केही भागमा ढलान उप्किएको थियो। मर्मत कार्य पूरा भएपछि एक सातापछि पुल सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर गिरिसनन्दनप्रसाद तोरसले जानकारी दिए ।
माघ २७ गतेदेखि पुल मर्मतको लागि यातायात बन्द गरी वैकल्पिक डाइभर्सनमार्फत सवारी साधन वारपार गराइँदै आएको थियो । पुल सञ्चालनमा आएपछि अब डाइभर्सन हटाइने र त्यहाँ राखिएका ह्यूमपाइप निकाल्ने तयारी भइरहेको छ।
मर्मतका क्रममा उच्च गुणस्तरको ‘कङ्क्रिट’ प्रयोग गरी ढलान गरिएको प्राविधिकहरूले जनाएका छन्, जसले गर्दा तत्काल सवारी सञ्चालन सम्भव भएको छ। ५५ वर्षअघि निर्माण गरिएको बागमती खोलासहित अन्य पुलहरू जीर्ण भइसकेका छन्। वर्षेनी अस्थायी मर्मत गर्दै यातायात सञ्चालन गरिँदै आएको भए पनि पूर्व–पश्चिम राजमार्ग विस्तारको क्रममा यी पुलहरूसँगै नयाँ समानान्तर पुल निर्माण गर्ने तयारी गरिएको छ। हरिवनस्थित चापिनी खोलामा भने नयाँ पुल निर्माण कार्य सुरु भइसकेको छ।

