चन्द्रपुर महोत्सव २०८१: कृषि, पर्यटन र व्यापारको संगम

रुपेन्द्र पटेल
चन्द्रनिगाहपुर, ३ फागुन । रौतहटको चन्द्रपुरमा कृषि पर्यटन उद्योग व्यापार, समृद्धिको मुख्य आधार भन्ने मूल नाराका साथ फागुन ५ गतेदेखि फागुन १७ गतेसम्म चौथो चन्द्रपुर महोत्सव २०८१ आयोजना गरिँदै छ । चन्द्रपुर नगर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन हुने यस महोत्सवका सम्पूर्ण तयारीहरु पूरा भएको जानकारी संघका अध्यक्ष उदयनारायण सापकोटाले शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत दिएका छन् ।
महोत्सवमा स्थानीय कृषि तथा लघु उत्पादन, व्यवसायिक प्रदर्शनी तथा बिक्री स्टलहरु राखिनेछ । साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुति, खेल मनोरञ्जनका सामग्री, बाल उद्यान, तथा औद्योगिक मेला समेत समावेश गरिनेछ । उद्घाटन समारोह विशेष बनाउन जनज्योति माध्यमिक विद्यालयबाट विभिन्न संघ संस्थाहरुको अगुवाइमा सांस्कृतिक झाँकीसहितको शुभारम्भ यात्रा निकालिनेछ, जसले चन्द्रनिगाहपुर चोक परिक्रमा गरी महोत्सव स्थलमा पुगेर उद्घाटन समारोहमा सहभागी हुनेछ ।
महोत्सवका लागि हालसम्म ११५ स्टलमध्ये आधा बुकिङ भइसकेको र अन्य स्टलहरुको बुकिङ प्रक्रिया जारी रहेको चन्द्रपुर नगर उद्योग वाणिज्य संघका महासचिव जनकराज भारतीले जानकारी दिए ।
प्रवेशका लागि प्रति व्यक्ति १०० रुपैयाँ शुल्क तोकिएको छ, जसमा एउटा भोट समावेश हुनेछ । स्टेज कार्यक्रममा सहभागी भएका स्थानीय नवप्रतिभा कलाकारहरुको प्रस्तुति हेरेर दर्शकहरूले मन परेको कलाकारलाई भोट दिन सक्नेछन् । समापनको दिन सबैभन्दा बढी भोट प्राप्त गर्ने ४ जना कलाकारलाई पुरस्कृत गरिनेछ ।
महोत्सवमा काटिएको टिकटको अर्धकट्टी देखाएर सर्लाहीको प्रख्यात भरत तालस्थित बागमती इन्टरटेन्मेन्टको टिकट खरिद गर्दा ५० प्रतिशत छुट प्राप्त हुनेछ भने फागुन महिनाभित्र खरिद गरिने टिकटमा २५ प्रतिशत छुट उपलब्ध हुने आयोजक संस्थाले जनाएको छ ।
महोत्सवलाई एनसेल, गोर्खा ब्रुअरी, जावलाखेल ग्रुप, होटल तथा पर्यटन व्यवसायी महासंघ संस्थाहरु र मधेश प्रदेश सरकार लगायतकाले आर्थिक तथा अन्य सहयोग प्रदान गरेका छन् । साथै, बीमा व्यवस्थापनका लागि नेको इन्सुरेन्स, स्वास्थ्य व्यवस्थापनका लागि विभिन्न अस्पतालहरु, इन्टरनेट व्यवस्थापनका लागि वल्र्डलिंक र सुबिसु, तथा सुरक्षाका लागि आरआर इन्फोसी प्रालि संलग्न रहेका छन् । नेपाल पत्रकार महासंघ रौतहटको समन्वयमा स्थानीय सञ्चारमाध्यमहरुलाई महोत्सवको आधिकारिक मिडिया पार्टनर बनाइएको छ । चन्द्रपुर नगरपालिकाको संरक्षण, चन्द्रनिगाहपुर सिटी जेसिज, लायन्स क्लब रौतहटको सहआयोजना, होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशको सहयोग एवम् मधेश प्रदेश सरकार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको मुख्य सहयोगमा महोत्सव सम्पन्न गरिनेछ । अध्यक्ष सापकोटाका अनुसार, घुमौं मधेश, बुझौं मधेश, भन्ने नारालाई आत्मसात गर्दै महोत्सवले मधेशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

ताजा समाचार

Related Articles