वीरगञ्ज,३० माघ । वीरगञ्ज महानगरपालिका– १३ स्थित एक मासु व्यवसायीलाई उपभोक्तालाई झुक्याएर मासु बिक्री गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
स्थानीयहरूको उजुरीको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले आसमिन फ्रेस हाउसमा छापा मार्दा ४१ वर्षीय हारून मियाँ अन्सारीले बाख्राको मासुमा खसीको अण्डकोष टाँसेर बिक्री गरिरहेको फेला परेको हो।
प्रहरीले घटनास्थलबाट १५ किलोग्राम टाँसिएको मासु समेत बरामद गरेको छ। उपभोक्तालाई भ्रमित पार्दै मूल्यभन्दा महँगोमा मासु बिक्री गरिरहेको आरोपमा अन्सारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय, पर्साबाट आवश्यक अनुमति लिएर अन्सारीविरुद्ध थप अनुसन्धान अघि बढाइएको छ। प्रहरीले उपभोक्ता ठग्ने तथा कालो बजारी गर्ने कुनै पनि कार्यलाई कडाइका साथ नियन्त्रण गर्ने बताएको छ।

