भासियो बाग्मती पुलको स्पर, बढ्यो जोखिम

रुपेन्द्र पटेल
रौतहट, १६ माघ । रौतहट र सर्लाही जिल्ला जोड्ने बाग्मती नदीको पुरानो पुलको स्पर चर्किएपछि आवागमनमा समस्या देखिएको छ ।
पूर्वपश्चिम मुख्य राजमार्गअन्तर्गत पर्ने उक्त पुलको सर्लाहीतर्फ बाट आउँदा पाँच नम्बर रौतहटतर्फ बाट जाँदा सात नम्बरको स्पर करिब ८ सेन्टिमिटर भासिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
करिब ५५ वर्षअघि निर्माण गरिएको यो पुल हाल जीर्ण भइसकेको छ । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर प्रकाश यादवका अनुसार पुलको स्पर तलमाथि भएकाले आवागमनमा थप समस्या उत्पन्न हुने देखिएको छ । जोखिम न्यूनीकरणका लागि भारी भारवाहनलाई एकपटकमा एउटा मात्र सञ्चालन गर्न अनुरोध गरिएको छ । यसका लागि रौतहट र सर्लाही ट्राफिक प्रहरी कार्यालयलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अरुण कुमार लाल कर्णका अनुसार मुख्य सडक मार्गको पुल एकाएक भासिएपछि पुल महाशाखालाई जानकारी गराइएको छ । पुलको बेरिङ्ग फुट्दा जोडिएको दुई स्परमा अन्तर देखा परेको छ, जसले गम्भीर जोखिम निम्त्याउने सम्भावना बढाएको छ ।
स्थानीय बासिन्दा समिर बाबु काकीका अनुसार समयमै आवश्यक मर्मत कार्य नगरिए पुलमा दुर्घटना हुनसक्छ । स्थानीयवासी र यात्रीहरूले तत्काल मर्मत कार्य गर्न माग गरेका छन् । यस पुलको शीघ्र मर्मत गरी यात्रा सुरक्षित बनाउन सम्बन्धित निकायले उच्च प्राथमिकता दिनुपर्ने देखिन्छ ।

ताजा समाचार

Related Articles