चन्द्रपुर,१५ माघ । चन्द्रपुर नगरपालिका क्षेत्रका केही भित्री गाउँहरूमा सरस्वती पूजाका नाममा विद्यार्थीहरूले चन्दा उठाउन ढाट तेस्र्याउने कार्य पुनः सक्रिय भएको छ। मुख्य सडक र ग्रामीण क्षेत्रका साना तथा ठूला बाटाहरूमा ढाट राखेर सवारी साधन रोकी जबरजस्ती चन्दा असुली गर्ने कार्य बढ्दै गएको छ।
विद्यार्थीहरूले सरस्वती पूजाका लागि आवश्यक मूर्ति, प्रसाद र अन्य सामग्रीको जोहो गर्न चन्दा उठाउन थालेका हुन्। तर, सवारीधनीहरू र स्थानीयबासीले यस्तो कार्यबाट असहजता र असुरक्षा महसुस गरेको बताएका छन्। सवारी चालकहरूका अनुसार चन्दा नदिए यात्रा नै रोकिदिने अवस्था सिर्जना भएको छ।
जुडीबेला माध्यमिक विद्यालयका शिक्षक रत्न अधिकारीले यस्तो चन्दा संकलन गर्ने परम्परालाई गलत अभ्यासको संज्ञा दिएका छन्। उनले भने, “चन्दा उठाउने पुरानो प्रचलन हराउँदै गएको थियो। तर फेरि यसरी जबरजस्ती संकलन हुन थालेको छ। यो रोक्न विद्यालय र समुदायले सहकार्य गर्नुपर्छ।”
यसैगरी, जिल्ला ट्राफिक प्रहरी प्रमुख लोकेन्द्र अधिकारीले ढाट तेस्र्याएर चन्दा उठाउने क्रियाकलापले ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न गरेको र सवारी दुर्घटनाको जोखिम बढाएको जानकारी दिए।
प्रधानाध्यापक र शिक्षकहरूले यस्तो कार्य रोक्न निर्देशन दिए पनि विद्यार्थीहरूले अस्वीकार गरेको बताएका छन्। सरस्वती पूजाका लागि आर्थिक स्रोतको आवश्यकता रहेको भए पनि चन्दा उठाउने यस्तो अभ्यासले पठनपाठन प्रभावित हुनुका साथै सामाजिक तनाव सिर्जना गर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
स्थानीय तह, विद्यालय प्रशासन, र सुरक्षा निकायबीच सहकार्य गरेर यो समस्याको समाधान खोजिनुपर्ने स्थानीयहरूको माग रहेको छ।

