चन्द्रपुरमा मापदण्ड विपरीत सञ्चालित स्केट पार्क सिल

रुपेन्द्र पटेल
रौतहट, १३ माघ । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित चन्द्रपुर स्केट पार्क मापदण्ड विपरीत सञ्चालनमा ल्याइएको पाइएपछि सिल गरिएको छ । स्केट पार्क हाउसमा बाल श्रमिक राखेर मापदण्ड विपरीत सञ्चालनमा आएको भन्ने गुनासो बढेपछि चन्द्रपुर नगरस्तरीय बाल सञ्जालका प्रतिनिधि, चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरी, र वडा नम्बर ४ को अनुगमन टोलीले संयुक्त रुपमा गरेको अनुगमनको क्रममा शनिबार स्केट पार्क दर्ता नै नगरिएको, बाल श्रमिक प्रयोग गरिएको, र सुरक्षाका मापदण्ड पालना नगरेको तथ्य फेला परेको थियो ।
चन्द्रपुर–४ का अध्यक्ष रवि राना मगरका अनुसार, स्केटिङ पार्कमा सुरक्षा मापदण्डको ठुलो लापरबाही भएको पाइएको छ । केही दिनअघि स्केटिङ गर्ने क्रममा एक किशोर गम्भीर घाइते भएको घटना सार्वजनिक भएको हो । सो घटनास्थलमा रगत अझै जमेको अवस्थामा देखिनु र संरचनाको अव्यवस्थित बनावटले यो स्केटिङ् पार्क जोखिमपूर्ण मात्र होइन, दुर्घटनाको कारखाना बनेको छ, चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरीले भनिन् ।
बञ्जारा कम्प्लेक्समा रहेको उक्त स्केटिङ् पार्क कुनै कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेको अनुगमनका क्रममा खुलासा भएको उपप्रमुख चौधरीले बताइन् । महिला तथा बालबालिका विकास शाखाका प्रमुख चन्द्रकला बरालका अनुसार, स्केट पार्कका संचालक प्रेम चौधरी र अनिकित राई दास अनुगमनको समयमा सम्पर्कविहीन थिए । उनीहरुलाई टेलिफोन मार्फत घटनाबारे जानकारी दिँदै छानबिनका लागि नगरपालिकामा उपस्थित हुन सूचित गरिएको छ, बरालले जानकारी दिइन् ।
वडा अध्यक्ष मगरले चन्द्रपुर नगरपालिका–४ मा बाल श्रम प्रयोग र गुणस्तरहीन सामग्रीका प्रयोगबारे लगातार गुनासा आएको भन्दै अनुगमन कार्य तीव्र बनाइएको बरालले बताइन् । बालबालिकाको सुरक्षामा खेलवाड गर्ने र मापदण्डविपरीत व्यवसाय सञ्चालन गर्ने कुनै पनि पक्षलाई छुट दिइने छैन, उनले चेतावनी समेत दिएकी छिन् ।
चन्द्रपुर नगरपालिकाले बाल श्रम, गैरदर्ता व्यवसाय, र सुरक्षा मापदण्डको उल्लंघनजस्ता गतिविधिलाई निरुत्साहित गर्न थप कडा कदम चाल्ने उपप्रमुख जयमाला चौधरीले जनाएको छ । नगरस्तरीय बाल सञ्जाल, महिला तथा बालबालिका विकास शाखा, र वडास्तरीय टोलीको सहकार्यमा यस अभियानलाई निरन्तरता दिइने जानकारी उपप्रमुख चौधरी बताइन् ।
बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्दै चन्द्रपुर नगरपालिका र सरोकारवाला निकायले अनुगमनलाई तीव्र बनाएको छ ।

ताजा समाचार

Related Articles