राैतहट १२ माघ
राैतहटमा ट्राफिक दुर्घटना कम गर्ने उदेश्यले दुर्घटना न्युनिकरण अभियान सञ्चालनमा ल्याइएकाे छ । शितलहर र हुस्सुका कारण सवारी दुर्घटना हुन सक्ने उच्च सम्भावना भएकोले चालकहरुले नजिकै पनि नदेख्दा अन्य बेला भन्दा बढी दुर्घटनाको जोखिम समेत बढेपछि रौतहट ट्राफिकले दुर्घटना कम गर्न उद्देश्यका साथ दुर्घटना न्यूनीकरण अभियान थालेको जिल्ला ट्राफिक कार्यालय राैतहटले जनाएकाे छ । साे अभियान अन्तर्गत सवारी साधनमा रिफ्लेक्टिभ स्टिकर टाँस्ने, सवारी चालकको स्वास्थ परीक्षण गर्ने, इन्डिकेटर बत्ती बालेर बिस्तारै सवारी चलाउन अनुरोध गर्ने र ओभर टेक गरेर सवारी नचालाउन आग्रह गरिएको ट्राफिक प्रहरी कार्यालय रौतहटका कार्यालय प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले तराई पाेष्टलाई जानकारी दिनु भयाे । ट्राफिक कार्यालय राैतहटले विभिन्न पालिका अन्तर्गतका विद्यालयमा दुर्घटना न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम समेत गर्दै आइरहेकाे जनाएकाे छ ।
पछिल्लो एक सातादेखी तराई मधेश शितलहर र बाक्लो हुस्सुले आक्रान्त बनेको छ । चिसो ह्वात्तै बढेपछि जनजीवन प्रभावित त बनेकै छ यसले ट्राफिक ब्यवस्थापनमा समेत प्रभाव पारेको छ ।

