राैतहट २३ पुस
रौतहटमा फोन मार्फत पत्रकारलाई गालीगलौज गरी कुटपिट गर्ने धम्की दिने एक जना ब्यक्तीलाई रौतहट प्रहरीले पक्राउ गरेका छन । पक्राउ पर्नेमा राैतहटकाे कटहरिया नगरपालिका वडा नंं.४ कटहरियाका स्थानिय रामचन्द्र साह कलवार रहेको प्रहरीले जनाएको छ । रेडियोमा समाचार प्रशारण गराएको विषयलाई लिएर साहले नेपाल पत्रकार महासंघ राैतहटका सदस्य तथा कटहरिया म्युजिकल एफएमका प्रबन्ध निर्देशक प्रकाश श्रेष्ठलाई फोन मार्फत अपशब्द प्रयोग गरी ठिक पारिदिने धम्की दिएकाले पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । मिटरब्याजी साहु समेत रहेका साह मिटरब्याजी सम्बन्धी उजुरी परेपछि एफएमका निर्देशक श्रेष्ठ पीडितको पक्षमा उभिएका थिए । ३ वटा सहकारीका संचालक रहेका साहले अनुदानमा आएका रासायनिक मल लक्षित वर्गलाई नदिई बढि रकम लिएर कालोबजारी गर्दै आएको भन्दै पटक पटक बिभिन्न मिडियामा समाचार आएपछि रौतहटको कटहरिया बजारमा संचालन रहेको कटहरिया म्युजिकल एफएमले समाचार बजाए पछि साहले धम्की दिएकाे श्रेष्ठले बताउनु भयो । फोनबाट साहले गाली, अपशब्द प्रयोग गर्दै चाँडै ठिक पारिदिन्छु जस्ता धम्की दिएपछि नेपाल पत्रकार महासंघ रौतहट शाखाको सदस्य एवं नेपाली काँगे्रस मधेश प्रदेशको प्रचार प्रसार विभागका सदस्य समेत रहेका श्रेष्ठले उक्त अडियो सार्वजनिक गरेका थिए । नेपाल पत्रकार महासंघ रौतहटका सचिव गौतम श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै व्यवसायी रामचन्द्र साहलाई अविलम्ब नियन्त्रणमा लिएर कानुन बमोजिम कारवाही अघि बढाउन माग गर्नु भएको थियो ।
पक्राउ परेका व्यवसायी रामचन्द्र साह अहिले इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको घटनाबारे थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले जानकारी दिनु भयो ।