रौतहट, २१ साउन
रौतहटको गढीमाई नगरपालिका–८ अन्तर्गत मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवको गाउँ बिरनगरा र धोबिनिया क्षेत्रमा पानीको डुबानका कारण करिब १०० बिघाभन्दा बढी धानखेती जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा किसानहरू ठूलो समस्यामा परेका हुन् । स्थानीय किसानहरूका अनुसार वर्षौंदेखि यस क्षेत्रमा स्थायी पानी निकासको माग गरिँदै आए पनि आवश्यक पूर्वाधार निर्माण नहुँदा हरेक वर्ष वर्षायाममा खेतीयोग्य जमिन डुबानमा पर्ने समस्या दोहोरिने गरेको छ । उनीहरूले प्रदेशका विभिन्न स्थानमा विकासका काम भए पनि मुख्यमन्त्रीकै गाउँको यो दीर्घकालीन समस्यामा पर्याप्त ध्यान नपुगेको गुनासो गरेका छन् । स्थानीयका अनुसार धोबिनिया गाउँ नजिकै नहर भए पनि पक्की नाला तथा प्रभावकारी निकास प्रणालीको अभावले खेतमा पानी जम्ने गरेको छ । यसअघि गाउँको पानी राप्रवेश यादव र मिश्रीलाल यादवको खेत हुँदै निकास हुने गरेकामा हाल उक्त स्थानमा माटोको बाँध बनाइएपछि पानीको बहाव अवरुद्ध भएको र त्यसकै कारण धानबाली डुबानमा परेको किसानहरूको आरोप छ । समस्याको समाधानका लागि बिहीबार किसान, जनप्रतिनिधि तथा सुरक्षाकर्मीको संयुक्त टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी छलफल गरेको थियो। यद्यपि किसानहरूले तत्कालको अस्थायी उपायभन्दा दीर्घकालीन रूपमा पानी निकासको स्थायी संरचना निर्माण गर्न सम्बन्धित निकायले ठोस पहल गर्नुपर्ने माग गरेका छन् । स्थानीयवासीले खेती जोगाउन प्रभावकारी निकास प्रणाली निर्माण, डुबानको स्थायी समाधान तथा प्रभावित किसानलाई आवश्यक राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

