रौतहट,७ पुस । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलपछि जनकपुर बोल्ट्सका समर्थकहरूमाथि भएको दुर्व्यवहारको मधेशी आयोगले कडा भर्त्सना गरेको छ। कीर्तिपुर खेलमैदानमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच शनिबार भएको खेलका क्रममा भएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै आयोगले दोषीलाई कडा कारबाहीको माग गरेको हो।
आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आइतबार जारी गरेको विज्ञप्तिमा यस्ता घटनाले सामाजिक सद्भावमा नकारात्मक असर पर्ने भन्दै राज्य र प्रहरी प्रशासनलाई संवेदनशील बन्न आग्रह गरे। आयोगले दोषीहरूको यथाशीघ्र पहिचान गरी उनीहरूमाथि सख्त कारबाही गर्न प्रहरी प्रधान कार्यालयसँग अनुरोध गरेको छ।
यसैक्रममा, आयोगले सदस्य जीवछ साहको नेतृत्वमा एक उच्चस्तरीय टोली खटाएर स्थलगत निरीक्षण गर्ने र घाइतेहरूसँग विस्तृत विवरण संकलनपछि थप निर्णय लिने जानकारी गराएको छ। आयोगले घटनाको छानबिनमा कुनै पनि प्रकारको लापरवाही नगर्न सम्बद्ध पक्षहरूलाई चेतावनी दिएको छ।
यस घटनाले नेपालमा खेलकुदमार्फत सामाजिक सद्भावलाई प्रवर्द्धन गर्ने प्रयासमा खलल पुग्ने चिन्ता व्यक्त गरिएको छ।