जनकपुर बोल्ट्स समर्थकमाथि आक्रमणको घटनाप्रति मधेस प्रदेशका मुख्यमन्त्रीको गम्भीर ध्यानाकर्षण

  रुपेन्द्र पटेल
रौतहट, ७ पुस । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेलपछि भएको हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
मुख्यमन्त्री सिंहले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा जनकपुर बोल्ट्सका समर्थकमाथि खेलकुद मैदानमै भएको आक्रमणलाई दुर्भाग्यपूर्ण भन्दै यसलाई नेपालको संविधान र कानुनविपरीतको कार्यको रूपमा चित्रण गरेका छन्। खेलकुदलाई सद्भाव, सहिष्णुता र भाइचारा प्रवर्द्धन गर्ने माध्यमका रूपमा हेरिनुपर्नेमा, यस्तो हिंसात्मक आक्रमणले समाजमा नकारात्मक सन्देश प्रवाह गरेको उनले बताएका छन्।
मुख्यमन्त्री सिंहले खेलकुदमा प्रतिस्पर्धा स्वाभाविक भए पनि त्यसलाई साम्प्रदायिकता र घृणाको माध्यम बनाउनु निन्दनीय र अस्वीकार्य भएको बताएका छन् । उनले दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
उनले नेपालजस्तो सांस्कृतिक विविधताले भरिएको देशमा कुनै पनि समुदायको मौलिकता र परम्परागत अभ्यासप्रति देखाइने तिरस्कारले समाजमा गहिरो विभाजन ल्याउने चेतावनी समेत दिएका छन् । यस्तो व्यवहारले फरक भूगोल र समुदायबीचको सुदृढ सम्बन्ध खण्डित हुने जोखिम रहेको मुख्यमन्त्री सिंहले औँल्याएका हुन् ।
घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मुख्यमन्त्रीले भौतिक आक्रमणका घटनाहरू असह्य र पीडादायी भएको बताए । उनले यस्ता घटनाले खेलकुदको मर्मलाई कमजोर बनाउने र राष्ट्रिय एकतालाई असर पुर्‍याउने धारणा राखे।
सङ्गठन र सरकार दुवै पक्षबाट यस्ता हिंसात्मक कार्यको तुरुन्त अन्त्य गरिनुपर्नेमा उनले जोड दिएका छन्।

ताजा समाचार

Related Articles