पत्रकार महासङ्घ रौतहटको निर्वाचन, अध्यक्षमा कार्की र सचिवमा श्रेष्ठ निर्वाचित

रुपेन्द्र पटेल
रौतहट,२९ मंसिर । नेपाल पत्रकार महासङ्घ रौतहट शाखाको नेतृत्वका लागि शुक्रबार सम्पन्न निर्वाचनबाट सञ्जय कुमार कार्की अध्यक्षमा निर्वाचित भएका छन् । नेपाल प्रेस युनियनका तर्फबाट उम्मेदवार बनेका कार्कीले कुल १५ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धीहरू उत्तम कुमार उपाध्याय र रविन्द्र प्रसाद साहलाई तीन मतले पराजित गरेका हुन् ।
प्रेस चौतारी नेपालका उम्मेदवार उपाध्याय र प्रेस मञ्चका साह दुवैले समान १२/१२ मत प्राप्त गरेका थिए । समाजवादीका मदन ठाकुर (धनञ्जय) भने ६ मतका साथ अन्तिम स्थानमा रहन पुग्यो ।
अन्य पदमा पनि कडा प्रतिस्पर्धा देखिएको थियो । उपाध्यक्ष पदमा प्रेस सेन्टरका डिल्ली बहादुर कार्कीले १८ मत प्राप्त गर्दै विजय हासिल गरे भने उनका प्रतिद्वन्द्वी राम एकवाल साहले १५ र पुष्प राज यादवले ११ मत ल्याएका थिए ।
सचिव पदमा प्रेस चौतारीका गौतम श्रेष्ठले २६ मत प्राप्त गर्दै जित हासिल गरेका छन् । सह-सचिव पदमा खुलातर्फ जीतेन्द्र श्रीवास्तवले २४ मत र समावेशीतर्फ दिनेश यादवले २६ मत ल्याएर विजयी भएका छन् । कोषाध्यक्षमा सञ्जय कुमार सहनी २४ मतका साथ निर्वाचित बनेका हुन्  । यसअघि, केही पदहरूमा निर्विरोध निर्वाचन सम्पन्न भएको थियो । महिला उपाध्यक्षमा बिना श्रीवास्तव, महिला खुला तर्फ रश्मी पटेल, पुरुष खुला तर्फ उमेश यादव, र आदिवासी जनजाति तर्फ प्रकाश श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए । शुक्रबार भएको निर्वाचनमा ४५ जना मतदातामध्ये सबैले मतदान गरेका थिए ।

ताजा समाचार

Related Articles