रौतहटको तीनवटा वडामा उपनिर्वाचन : गढिमाइमा एसको जित, इसनाथ र राजपुरमा काँग्रेस जित्यो

  रुपेन्द्र पटेल
रौतहट,१७ मंसिर । रौतहटमा सम्पन्न उपनिर्वाचनमा राजनीतिक दलहरूले मिश्रित परिणाम हासिल गरेका छन् । तीन वटै वडाका अन्तिम मत परिणाम सार्वजनिक भएसँगै गढिमाइ नगरपालिका वडा नम्बर ८ मा एकीकृत समाजवादी पार्टीका उम्मेदवार बजरंगी प्रसाद यादवले अप्रत्याशित जित निकाल्दै राजनीतिक विश्लेषकलाई चकित पारेका हुन् ।
गढिमाइ नगरपालिका वडा नम्बर ८ मा यादवले ६५५ मत प्राप्त गर्दै २४ मतको झिनो अन्तरले विजयी भएएका छ्न । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार जिउती देवी यादवले ६३१ मत प्राप्त गरिन् भने नेपाली कांग्रेसका सुबोध कुमार यादवले ६१७ मत पाए । यो वडामा २,२३७ मत खसेको थियो, जसमा मतदान प्रतिशत ८१.३१ रहेको थियो ।
यसअघि २०७९ सालको स्थानीय तह निर्वाचनमा यस वडाबाट जनता समाजवादी पार्टीका रामअज्ञा यादव निर्वाचित भएका थिए । उनको निधनपछि यस वडामा उपनिर्वाचन भएको हो ।
यस्तै नेपाली कांग्रेसले भने राजपुर नगरपालिका वडा नम्बर ६ र ईशनाथ नगरपालिका वडा नम्बर ७ मा विजय हासिल गरेको छ । राजपुर-६ मा कांग्रेसका उम्मेदवार समसे आलमले ७४४ मत ल्याएर विजयी बनेका हुन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका जिकरुलाहले ४६३ मत र एमालेका मोहम्मद नसिम अख्तरले ४३१ मत पाए । यो वडामा १,७६६ मत खसेको थियो, जहाँ ६९.३६ प्रतिशत मतदान भएको थियो ।
यस्तै, ईशनाथ नगरपालिका वडा नम्बर ७ मा कांग्रेसकै उम्मेदवार शेख अब्दुल खलिकले ७२७ मत ल्याएर जित निकालेका छन् । उनका प्रतिस्पर्धी एमालेका शेख अनवारले ५७५ मत र एकीकृत समाजवादीका सदरे आलमले ४५२ मत पाए। यहाँ ६९.०८ प्रतिशत मतदान भएको थियो ।
गढिमाइ ८ मा काँग्रेस पराजित हुँदा यसले मधेस प्रदेशमा राजनीतिक शक्ति सन्तुलनलाई प्रभाव पार्ने अनुमान गरिएको छ । गढिमाइ वडा ८ काँग्रेस मधेस प्रदेश सभापति कृष्णा यादवको गढ मानिएको थियो ।

ताजा समाचार

Related Articles