रौतहट,१४ मंसिर । रौतहटको माधवनारायण नगरपालिका मेयर बैजनाथ प्रसाद यादवले दश कोठे विद्यालय भवनको शिलान्यास गरेका छन् ।
नगर प्रमुख यादवले माधवनारायण नगरपालिका वडा न. ८ रजवडामा रहेको प्राथमिक विद्यालयको एक तले दश कोठे भवनको शुक्रबार शिलान्यास गरेका हुन् ।
शुक्रबार दिउँसो आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख यादवले उक्त भवनको शिलान्यास गरेका हुन्।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत लाखौंको लागतमा सो भवन निर्माण हुने मेयर यादवले बताए। भवनको निर्माणको काम चाडै सम्पन्न हुने उनले जनाए ।
लामो समयदेखि त्यहाँ रहेको भवनको अभावका कारण विद्यार्थीहरुलाई पठन पाठन गर्न निकै कठिनाई हुँदै आएको अवस्थालाई मध्यनजर गरी विद्यालय भवनको शिलान्यास गरिएको मेयर यादवले बताए।
तत्काललाई एक तले भवन निर्माण गरिने र पछि आवश्यकताको आधारमा त्यसमा एक तल्ला अझै थप गरी दुई तल्ले बनाउने उनले बताए।
सो भवन निर्माण भएपछि विद्यार्थीहरुलाई पठन पाठन गर्न सहज हुने भएको छ।
मेयर बैजनाथ प्रसाद यादवले सो वडामा यसअघि वडा कार्यालय भवन र स्वास्थ्य चौकीको जीर्ण भवनलाई भत्काएर नयाँ भवन निर्माण गरिसकेका छन्।
नगरको प्रत्येक वडामा शिक्षा, स्वास्थ्य कृषि र भौतिक पूर्वाधार निर्माण कार्यलाई प्राथमिकतामा राखेर आफु काम गरिरहेको मेयर यादवले बताए।

