रुपेन्द्र पटेल
रौतहट, २५ कार्तिक । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले लोकतन्त्र र गणतन्त्रका कारण नेताहरु धनी र देश कंगाल बन्दै गएको भन्दै यो व्यवस्थालाई खारेज गरी जनतालाई मालिक बनाउने नयाँ व्यवस्था ल्याउनुपर्ने बताएका छन् । रौतहटको गरुडामा आयोजित विशाल जनजागरण सभामा उनले हालका नेताहरुले लोकतन्त्रको नाममा भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेको आरोप लगाएका छन् । प्रसाईले लोकतन्त्रमा जनता मालिक हुने भनिए पनि वास्तवमा नेताहरु र उनीहरुका आसेपासेहरुको हालीमुहाली रहेको टिप्पणी गरे । उनले एमाले, कांग्रेस लगायतका दलहरुले आन्दोलनमार्फत लोकतन्त्र ल्याए पनि जनताको अवस्था लाचार भएको र नेताहरु मालामाल बनेको बताए । प्रसाईले नेपाल एक समय अरू देशलाई सहयोग गर्ने अवस्थामा भए पनि अहिलेका नेताहरुले देशलाई भिख माग्नुपर्ने स्थितिमा पु¥याएको आरोप लगाए । नेताहरुले विदेशी ऋणको भारी सर्वसाधारणको टाउकोमा थोपरेका छन् । जसले गर्दा अहिले जनताको अवस्था दयनीय बनेको छ, उनले भने । प्रसाईका अनुसार, हाल हरेक नेपाली नागरिकको टाउकोमा ८० हजार रुपैयाँ वैदेशिक ऋण छ, जसले जनतालाई आर्थिक चपेटामा पारेको छ । प्रसाईले बैंक, सहकारी, लघुवित्त संस्था, र मीटर व्याजको चर्को ब्याजदरले जनतालाई आर्थिक संकटमा पारेको बताउँदै २० लाखभन्दा कमका ऋण मिनाहा गराउने अभियानमा आफू लागेको घोषणा गरे । ऋणको भारले जनताका छोराछोरी विदेश पलायन हुनु र आत्महत्या गर्न बाध्य हुनु राज्यको कमजोरी भएको उनले बताए । उनले देशलाई चरम गरिबीबाट जोगाउन १६ जना मारवाडी, १० जना बिचौलिया, र ३० जना भ्रष्ट नेता मिलेर देशलाई विनाशतर्फ धकेल्ने तत्वहरुसँग लड्ने प्रतिबद्धता व्यक्त गरे । म भ्रष्ट नेता, चोर, दलाल, तस्कर, पूँजीवाद, लोकतन्त्र र गणतन्त्रका विरुद्ध लडिरहनेछु, प्रसाईले भने । प्रसाईले बैंक तथा सहकारीबाट पीडित सम्पूर्ण नागरिकलाई आफ्नो अभियानमा साथ दिन आग्रह गर्दै, जनताको आर्थिक मुक्तिका लागि आफ्नो संघर्ष निरन्तर जारी रहने स्पष्ट पारे ।

