रुपेन्द्र पटेल
रौतहट ,२१ कार्तिक । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमाले रौतहटले तीन वडाका अध्यक्ष पदका उम्मेदवारहरू चयन गरेको छ । आगामी उपनिर्वाचनमा रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६, इशनाथ नगरपालिका वडा नम्बर ७ र गढीमाई नगरपालिका वडा नम्बर ८ मा चुनाव हुने भएको छ । नेकपा एमाले रौतहटको सचिवालय बैठकले राजपुर नगरपालिका वडा नम्बर ६ का लागि नासिम अख्तर, इशनाथ नगरपालिका वडा नम्बर ७ का लागि शेख अनवर, र गढीमाई नगरपालिका वडा नम्बर ८ का लागि जिउती देवी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यो जानकारी नेकपा एमाले रौतहटका सचिव बाबुराम दाहालले दिएका छन । मंसिर १६ गते हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले मंसिर २ गते उम्मेदवार मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेसँगै नेकपा एमालेले रौतहटमा हुने उपनिर्वाचनका लागि आफ्नो उम्मेदवारहरू चयन गरेको हो । नेकपा एमाले रौतहटका जिल्ला अध्यक्ष सचिदानन्द साहले विज्ञप्ति जारी गर्दै पार्टीका सबै सदस्यहरूलाई एकजुट भएर उम्मेदवारहरूलाई जिताउनका लागि लाग्न अपिल गरेका छन् । उपनिर्वाचनको तयारीमा नेकपा एमालेले गरेको यो निर्णयसँगै तीनै वडामा चुनावी प्रतिस्पर्धा थप रोचक हुने आँकलन गरिएको छ ।

