रौतहट,२५ असोज । बडा दशैंको आज अष्टमी र नवौँ दिन अर्थात् महानवमीको अवसरमा रौतहटको शक्तिपीठ मन्दिरहरूमा ठूलो भिडभाड देखिएको छ। यस वर्ष एकै दिन अष्टमी र महानमी परेकोले जिल्लाका विभिन्न स्थानहरूमा रहेको शक्तिपीठ मन्दिरमा भक्तजनले बलि तथा प्रसाद चढाउनको लागि बिहानैदेखि लामबद्ध भएर उपस्थित भएका छन्। विशेषगरी, चन्द्रपुरको घोडीदेवी मन्दिर, पौराई बाबा भ्रमस्थान, दुर्गा भगवतीको राजदेवी मन्दिरलगायतका स्थानहरूमा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको छ।
रौतहट जिल्लाका सबै स्थानीय तहहरूमा दुर्गा पूजाका विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ, जसमा परम्परागत रूपमा बलि चढाउने र देवीलाई प्रसाद चढाउने चलन छ। गौर लगायतका स्थानका शक्तिपीठहरूमा आज विशेष रौनक देखिएको छ। यस अवसरमा मन्दिरका पुजारीहरूले भक्तजनलाई आशीर्वाद दिएका छन् र देवी दुर्गाको विशेष पूजा गरिएको छ।
बडा दशैंको यस अवसरमा कोरोना महामारीपछि पहिलोपटक यसरी ठूला संख्यामा मानिसहरू मन्दिरमा उपस्थित भएका हुन्।

