रौतहटलाई बाढीग्रस्त जिल्ला घोषणा गर्न माग गर्दै एमाले र एसले बुझाए सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

रुपेन्द्र पटेल
रौतहट, २२ असोज । रौतहटलाई बाढीग्रस्त जिल्ला घोषणा गर्न माग गर्दै नेकपा एमाले र एकीकृत समाजवादी (एस) पार्टीका नेताहरुले प्रमुख जिल्ला अधिकारी (सिडियो) मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । असोज १२ गते आएकोको विनासकारी बाढीले जिल्लाको हजारौं विगाहा धान बाली, माछा पोखरी, पोल्ट्री फर्म, र अन्य भौतिक संरचना ध्वस्त पार्दा किसानहरुलाई ठूलो क्षति पुगेको छ ।
नेकपा एमालेको तर्फबाट जिल्ला अध्यक्ष सचिदानन्द साहको नेतृत्वमा, केन्द्रीय सदस्य अजयकुमार गुप्ता, रेखा झा, राजकिशोर यादव लगायतका नेताहरुले प्रजिअ हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा रौतहटलाई बाढीबाट अति प्रभावित क्षेत्र घोषणा गर्न र तत्काल राहत प्याकेज उपलब्ध गराउन माग गरिएको छ ।
यस्तै, नेकपा (एस) का नेता कमल राय यादवको नेतृत्वमा एक टोलीले पनि प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएको छ । उनीहरुले पनि बाढीको प्रभावलाई ध्यानमा राख्दै रौतहटलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न र राहत कार्यक्रम कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
प्रजिअ हिरालाल रेग्मीले ज्ञापन पत्र प्रधानमन्त्री कार्यालयमा पठाउने आश्वासन दिएका छन् । यदि सरकारले यो मागलाई सम्बोधन नगरे दशैंपछि चरणबद्ध आन्दोलनको घोषणा गरिने चेतावनी नेकपा (एस) का जिल्ला अध्यक्ष यादवले दिएका छन् ।

ताजा समाचार

Related Articles