रौतहट,१७ असोज । वृन्दावन नगरपालिका वडा नं १ र २ ले संयुक्त रूपमा आयोजना गरेको दुर्गा पूजा मेला आज विधिवत रूपमा घटस्थापनाका दिन प्रारम्भ भएको छ। मेलाको पहिलो दिन ९ सय कलश यात्रासहित शोभायात्रा निकालिएको थियो। कलश यात्रामा सहभागीहरूले पाँचवटा गाउँको भ्रमण गरेका छन्।
कलश यात्रामा वृन्दावन नगरपालिका वडा नं १ का वडाध्यक्ष रामनाथ सहनी र वडा नं २ का वडाध्यक्ष सिकेन्द्र पटेलको सहभागिता थियो। साथै, नेकपा (एकीकृत समाजवादी) का नगर कमिटी संयोजक सुरेन्द्र प्रसाद पटेल, वडा नम्बर १ का पूर्व वडाध्यक्ष सुबोध पटेल लगायत विभिन्न राजनीतिक र सामाजिक व्यक्तित्वहरू पनि सहभागी भएका थिए।
दुर्गा पूजा मेलामा भक्तजनहरूका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू जस्तै खेल तमासा, नाचगानको समेत व्यवस्था गरिएको मेला समितिका अध्यक्ष संजीव पटेलले जानकारी दिएका छन्। मेलामा व्यापार गर्न आउने व्यापारीहरूका लागि विशेष रूपमा रातको समयमा खानाको समेत व्यवस्था गरिएको मेला समितिका सचिव अमिन्दर पटेलले बताएका छन्।
मेलाले स्थानीय जनताको धार्मिक आस्था र मनोरञ्जन दुवैलाई सन्तुष्ट पार्दै क्षेत्रीय व्यापारलाई पनि टेवा पुर्याउने विश्वास लिइएको छ।

