चन्द्रपुर, १६ असोज । रौतहटमा गत असोज ११ र १२ गते परेको अबिरल वर्षाले ठूलो जनधनको क्षति पुर्याएको छ। यस प्राकृतिक विपत्तिका कारण थुप्रै परिवार घरबिहीन भएका छन् भने धेरैको घर, पशुचौपाया, र खेतीबाली पूर्ण रूपमा नष्ट भएको छ। विशेष गरी धानबाली नष्ट हुँदा किसानहरू आर्थिक रूपमा निकै मारमा परेका छन्।
यस कठिन परिस्थितिमा रौतहटको कटहरिया नगरपालिकाका नगरप्रमुख अजय प्रकाश जयसवाल बाढीपीडितहरूको लागि ठूलो सहारा बनेका छन्। नगरप्रमुख जयसवाल निरन्तर प्रभावित क्षेत्रमा पुगेर पीडितहरूको अवस्थाको अवलोकन गर्दै राहत सामग्री वितरण गरिरहेका छन् । बुधबारका दिन मात्र उनले कटहरिया नगरपालिकाको वडा नं. १ भसेडवामा करिब १५० परिवारलाई राहत स्वरूप एक बोरा चामल, दाल, र त्रिपाल उपलब्ध गराएका छ्न । यसैगरी, वडा नं. ४ हर्षाहामा पनि २५० गरिब परिवारलाई राहत वितरण गरिएको छ ।
नगरप्रमुख जयसवालले यसअघि वडा नं. २ जमुनिया छेदीचौक टोलका ६१ परिवारलाई समेत राहत प्रदान गरेका थिए। नगर प्रमुख जयसवालका अनुसार बाढीपीडितहरूको दुःखलाई कम गर्न सक्दो प्रयास भइरहेको छ र आगामी दिनमा पनि राहतकार्यलाई निरन्तरता दिइनेछ। पीडितहरूले नगरप्रमुखको यो सहयोगलाई उच्च सम्मानका साथ लिएका छन् र सहयोग पाएका परिवारहरूले उनलाई माया, स्नेह, र आशीर्वाद दिइरहेका छन् । विपत्तिमा साथ पाउँदा उनीहरूमा केही राहतको अनुभूति भएको छ ।

