नुनथर जाने बाटो बाढीले बगाएपछि मेयरको निर्देशनमा पुनर्निर्माण

चन्द्रनिगाहपुर, १५ असोज । रौतहटको एकमात्र पर्यटकीय स्थल नुनथर जाने बाटो धमाधम निर्माण भइरहेको छ । केही दिनअघि लगातार परेको वर्षाका कारण बागमती खोलाले नुनथर जाने मुख्य बाटो बगाएपछि आन्तरिक तथा विदेशी पर्यटकहरूको आवागमनमा समस्या उत्पन्न भएको थियो । यसले गर्दा स्थानीय व्यवसायी र पर्यटकहरूलाई असुविधा भएको छ । पर्यटकहरूको आवागमनमा देखिएको समस्यालाई समाधान गर्न चन्द्रपुर नगरपालिकाका मेयर संजयकुमार काफ्लेले तत्परता देखाउँदै बाटो पुनर्निर्माणको निर्देशन दिएका छन् ।
नगरपालिकाले डोजर र स्काभेटरको प्रयोग गरी सडक पुनर्निर्माणको कामलाई तीव्र गतिमा अघि बढाइरहेको छ । स्थानीय बासिन्दा शुभकामना पौडेलका अनुसार मेयर काफ्लेको सक्रियतामा छिटोभन्दा छिटो बाटो पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ । पौडेलले सडक पुनर्निर्माणपछि पर्यटकहरूको आवागमन पुनः सहज हुने विश्वास व्यक्त गरेका छन् ।
नुनथर रौतहटको प्रमुख पर्यटकीय स्थल हो । यहाँ भारतको बिहार र अन्य क्षेत्रबाट मात्रै होइन, विदेशका विभिन्न देशहरूबाट समेत पर्यटकहरू घुम्न आउने गर्छन् । यस क्षेत्रको प्राकृतिक सौन्दर्य र बागमती नदीको छेउमा रहेको यस ठाउँको सांस्कृतिक महत्त्वले पर्यटकहरूलाई आकर्षित गरेको छ ।
नुनथरको पर्यटन क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्न स्थानीय निकाय र नगरपालिकाले चाँडोभन्दा चाँडो बाटो मर्मतसम्भार गरी पर्यटकहरूको सेवा पुनः सञ्चालन गर्ने योजना अघि बढाएका छन् । निरन्तर भइरहेको निर्माण कार्यले पर्यटकीय क्षेत्रको पुनर्स्थापना हुने अपेक्षा गरिएको छ ।

ताजा समाचार

Related Articles