चन्द्रपुर,१४ असोज । नेपाल अपांग महिला संघको नेतृत्वमा, ग्लोबल एक्सप नेपाल, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र युरोपियन युनियनको साझेदारीमा शिक्षा क्षेत्रमा नागरिक समाजको सहभागितालाई प्रवर्द्धन गर्न’विद्यालय शिक्षा क्षेत्र योजना (SESP) स्थानीयकरण सम्बन्धी कार्यशाला गोष्ठी’ गौतम होटल, चन्द्रपुरमा सम्पन्न भएको छ । सोमबार आयोजित यस कार्यशालामा शिक्षा क्षेत्रमा रहेका विभिन्न चुनौतीहरु र तिनका समाधानमा नागरिक समाजको भूमिका माथि विशेष छलफल गरिएको हो ।
कार्यशालामा विद्यालय शिक्षा क्षेत्रमा नागरिक समाजले खेपिरहेका प्रमुख चुनौतीहरुमा बजेटको अभाव, नीति निर्माण र कार्यान्वयनमा समस्याहरू, भौतिक पूर्वाधारको अभाव, शिक्षकको कमी, अभिभावक–शिक्षक समन्वयको अभाव, र बालमैत्री शिक्षा प्रणालीको अपर्याप्तता जस्ता विषयहरू उठान गरिएको थियो । यस्तै, अपांगता भएका बालबालिकाहरूको शिक्षा पहुँच अभाव र स्कूल स्तरमा विशेष कक्षाको अभावले अपांग विद्यार्थीहरूको समुचित शैक्षिक प्रगति असम्भव जस्तै बनेको पनि उल्लेख गरिएको छ ।
नागरिक समाजका प्रतिनिधिहरूले शिक्षा क्षेत्रमा उत्पन्न यी चुनौतीहरूको समाधानका लागि जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने, स्थानीय सरकारसँग सहकार्य गर्दै बजेट सुनिश्चित गर्ने, शिक्षक दरबन्दी पूर्ति गर्ने, र अपांग बालबालिकाहरूको पहिचान गरी विशेष कक्षा सञ्चालनको आवश्यकता रहेको बताए । स्थानीय तहबाट बालविवाह रोकथाम, बालमैत्री पूर्वाधारको विकास, र विद्यालयमा प्रविधि मैत्री वातावरणको सिर्जना गर्न नीति निर्माण गर्नुपर्नेमा जोड दिए ।
गोष्ठीमा गैरसरकारी संस्था, नागरिक समाज, र शिक्षकहरूबीच सहकार्यको खाँचो महसुस गर्दै, आगामी दिनमा जनचेतना अभियान सञ्चालन गर्ने, शिक्षक तालिम र विद्यालयको भौतिक सुरक्षा सुनिश्चित गर्ने, र शिक्षा क्षेत्रमा अपांग बालबालिकाहरूको पहुँच बढाउन विशेष पहल गर्ने निष्कर्ष निकालिएको छ ।
कार्यक्रममा सहभागी सबैले नागरिक समाजको सहभागितालाई मजबुत बनाउन विभिन्न तहहरूमा सहकार्य, योजना निर्माण, र प्रभावकारी कार्यान्वयनलाई सशक्त बनाउनुपर्नेमा एकमत व्यक्त गरेका थिए ।

