निरन्तर परेको वर्षाले गरुडा नगर क्षेत्रका केही स्थानमा प्रभाव, आफैंले तथ्याङ्क सङ्कलन गर्दै नगरप्रमुख जयसवाल

गरुडा,१३ असोज । लगातार भएको अविरल वर्षाले देशभरि नै वितण्डा मच्चाएको छ। रौतहट जिल्लाको गरुडा नगरपालिका पनि यसबाट प्रभाव परेको देखिएको हो । नगरपालिकाका केही क्षेत्रमा वर्षाको कारणले जनधनको क्षति पुगेको छ भने, दैनिक जनजीवनमा ठूलो असर परेको छ। प्रभावित क्षेत्रको अवलोकनका लागि गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमणिप्रसाद जयसवालले आफैं सक्रिय रूपमा निरीक्षण गरेका छन्।

नगरप्रमुख जयसवालले प्रभावित क्षेत्रको अनुगमन गर्दै, क्षतिको यकिन विवरण सङ्कलन गरेका छन्। उनले क्षतिग्रस्त संरचनाहरूको यकिन तथ्याङ्क सङ्कलन गरी त्यसको आधारमा आवश्यक राहत र पुनर्स्थापनाका कामलाई तुरुन्त अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नगरप्रमुखले यस विपत्को घडीमा नगरपालिका पूर्णरूपमा नागरिकहरूसँगै रहेको र उनीहरूको उद्धार तथा सहयोगका लागि हरसम्भव कदम चाल्ने बताएका छन् ।

उनले वर्षाका कारण प्रभावित नागरिकहरूको उद्धार र राहतका लागि नगरपालिकाले विभिन्न तयारीहरू गरेको र त्यसमा तत्कालै कार्यान्वयन हुने बताए । नगरपालिकाले प्रभाव क्षेत्रमा खानेपानी, स्वास्थ्य सेवा, बसोबास र अन्य आवश्यकताहरूको व्यवस्थापनका लागि योजनाहरू तयार पारिरहेको छ । साथै, विपतमा परेकाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र आपतकालीन उद्धार कार्यलाई व्यवस्थित बनाउन नगरप्रमुखले विशेष टोली परिचालन गरेको जानकारी गराएका छन् ।

जयसवालले सबै प्रभावित संरचनाहरूको पुनर्निर्माणका लागि स्थानीय सरकारको तर्फबाट दीर्घकालीन योजना बनाउन लागिपरेको पनि स्पष्ट पारेका छन्। स्थानीय बासिन्दालाई धैर्य रहन र नगरपालिका तथा अन्य सरोकारवालाहरूको साथ र सहयोगमा काम गर्न उनले आग्रह गरेका छन्।

ताजा समाचार

Related Articles