चन्द्रपुर, २३ भदौं । डिभिजन वन कार्यालय रौतहटका प्रमुख डिएफओ हेमन्त साह एक्सनमा उत्रिएका छन् । प्रमुख साहले यसअघिका डिएफओहरुले गर्न नसकेको काम आट गरेर अगाडी बढ्न थालेका हुन् । डिभिजन वन कार्यालय रौतहटले चन्द्रपुर नगरपालिका–२ स्थित भ्युटावर छेउको वनको जग्गामा लगाइएका मकैल गायतका बाली उखेलिएको छ । रौतहटको महादेव स्थान सामुदायिक वनको जग्गा अतिक्रमण गरी डेढ बिघामा लगाइएका मकै, मासको दाल लगायतका बाली उखेलेर वन कार्यालयको टोलीले जग्गा खाली गराएको हो ।
वन क्षेत्रको जग्गामा यसै क्षेत्रका बासिन्दाले एक वर्षयता खेतीपाती नै थालेका थिए । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वनको जग्गा अतिक्रमण गरेर खेतीपाती गरिरहेको विषयमा डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त साहलाई बुधबार जानकारी गराएका थिए । मुख्यमन्त्री सिंहको चासोपछि रौतहत वन कार्यालयले वनको जग्गामा लगाइएका बाली उखेलेर फालिदिएको वन प्रमुख साहले जानकारी दिए ।
अतिक्रमणकारीले एक वर्ष मकै लगाययतका बाली भित्याइसकेका छन् । यसवर्ष भने भर्खरै बाली लगाएका थिए । करिब ४० जना वनकर्मीहरुको टोली परिचालन गरेर जग्गा खाली गराएका छौं,’ रौतहटका डिभिजनल वन अधिकृत साहले भने,‘ बिहीबार त्यस ठाउँमा अतिक्रमण हटाउन खटिसकेका छौं ।’ अतिक्रमणमुक्त गराइएको जग्गामा बिहीबार र शुक्रबार गरी दुइदिनमा वृक्षरोपण गरिएको साहले जानकारी दिए । विभिन्न जातका करिब एक हजार विरुवा रोपिएको साहले बताए । डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त साह एक्सनमा उत्रिएपछि सुकुम्बासीको नाममा वन अतिक्रमण गर्ने नक्कली सुकुम्बासीहरूको उठिबास लाग्ने सम्भावना देखिएको छ ।
पछिल्लो समय रौतहटमा सुकुम्बासी बचाउँदै रौतहटका वन अतिक्रमण गरेर पक्की घर बनाउने कार्य तीव्र हुने गरेको थियो ।
यस्ता कार्य सब डिभिजन वन कार्यालय वृन्दावन अन्तर्गतका जंगलमा बढी भएको छ । सो क्षेत्रमा पहाडबाट आएका बासिन्दाहरू सुकुम्बासी बताउँदै ठुलठुला धनाटेहरूले पनि वन अतिक्रमण गरेर दुई तल्ले पक्की भवन निर्माण गरेको पाइन्छ । बागमतीको बगर पनि सो क्षेत्रमा व्यापक अतिक्रमण भएको हो ।
वृन्दावन मात्र नभई रौतहटका अधिकांश वन सुकुम्बासीको नाममा अतिक्रमण हुने गरेको छ । रौतहटमा २९ हजार चार सय हेक्टर वन रहेकोमा करिब साढे तीन हजार हेक्टर वन अतिक्रमण चपेटामा रहेको छ ।
यी सबै क्षेत्रलाई ध्यानमा राखेर डिभिजन वन कार्यालय रौतहटले अतिक्रमण हटाउनुपर्ने आवश्यक देखिएको छ ।
यता मधेश प्रदेश सरकारले पनि वन जंगल अतिक्रमण गरेर बनाइएका संरचना हटाउने र खेती उखेल्ने अभियान थालेको छ । मुख्यमन्त्री सिंहले गत मंगलबार प्रदेशका आठवटै जिल्लाका डिभिजन वन अधिकृतलाई जनकपुरस्थित सरकारी निवासमा बोलाएर प्रत्येक महिनामा कम्तीमा एक ठाउँको पुरानो वन अतिक्रमण पहिचान गरी हटाउन र नयाँ वन अतिक्रमण हुन नदिन निर्देशन दिएका थिए ।
मधेश प्रदेशमा कुल वनको ४ प्रतिसत क्षेत्रफल मात्र छ । सिरहा र बारा जिल्लाको वन क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचना यसअघि नै भत्काएर खाली गराइसकिएको छ ।
तराई पोष्ट साप्ताहिक पत्रिकाबाट सभार

