समस्याग्रस्त बन्दै लालीगुराँस र सुखाशितल सामुदायिक वन

बसन्त लामा
निजगढ, २३ भदौं । निजगढ नगरपालिकाको वडा नम्बर ३ मा रहेका दुई सामुदायिक वनहरू—लालीगुराँस र सुखाशितल सामुदायिक वन—समृद्ध प्राकृतिक स्रोतहरू भए पनि संरक्षण र व्यवस्थापनमा ध्यान नपुग्दा वर्षौंदेखि समस्याग्रस्त अवस्थामा छन् । यी वनहरूलाई समयमै संरक्षण नगरे भने पर्यावरणीय, सामाजिक, र आर्थिक दृष्टिकोणले धेरै हानिकारक असरहरू हुनसक्छ । तर, यथोचित व्यवस्थापन र सहकार्यले यी वनहरूलाई पर्यटनको मुख्य केन्द्रका रूपमा विकास गर्ने प्रशस्त सम्भावना रहेको छ ।
लालीगुराँस सामुदायिक वन २०६४ सालमा जिल्ला वन कार्यालयमा दर्ता भएपनि विगतका वर्षहरूमा नेतृत्व परिवर्तन नहुनु र कुनै साधारण सभा नहुनुले व्यवस्थापनमा ठूलो चुनौती खडा गरेको छ ।
यस वनको हालसम्म बार्षिक अडिट समेत हुन नसक्दा वनको वास्तविक आर्थिक र भौतिक अवस्था अज्ञात नै छ । अध्यक्ष पदमा रहेका व्यक्तिले दलको संरक्षणमा वनलाई व्यवस्थित गर्ने सट्टा व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्दै आएका छन्, जसले गर्दा साधारण सभा नहुनु, वनमा सक्रियता नदेखिनु जस्ता समस्याहरू देखिएका छन् ।
सुखाशितल सामुदायिक वनमा भने थप जटिल समस्या छ । यहाँ सामुदायिक वनको नियमावली विपरीत केरा खेती भइरहेको छ, जुन वनको संरचनामा प्रतिकूल असर पुर्याउने सम्भावना छ । सोधपुछ गर्दा उपभोक्ताहरूले जानकारी दिन नचाहनु पनि समस्याको एक पाटो हो । यस्तै, हरेक वर्ष चुरेको जंगल अतिक्रमण हुँदै आएको छ, तर सम्बन्धित वन कार्यालयहरू मात्र मूकदर्शक बनेका छन् ।
निजगढ नगरपालिकाले स्मार्ट सिटीको अवधारणा अघि सारेको बेला सिंगौल वडा नम्बर ३ मा रहेका लालीगुराँस र सुखाशितल सामुदायिक वनहरूको पर्यटन सम्भावनामा ध्यान दिइनु अत्यावश्यक देखिन्छ ।
यी वनहरू प्राकृतिक सौन्दर्य, हरियाली, र शान्त वातावरणले भरिपूर्ण छन्, जसले पर्यटकहरूलाई आकर्षित गर्न सक्छ । सुखाशितल सामुदायिक वनको बगरखोला पारि रहेको झरना पर्यटकीय आकर्षणको केन्द्रबिन्दु बन्न सक्छ । तर, वन संरक्षण र व्यवस्थापनको अभावमा यी सम्भावनाहरू यथार्थमा परिणत हुन सकेका छैनन् । वन संरक्षण र पर्यावरणीय दायित्व वहन गर्ने निकायहरू, जस्तै जिल्ला वन कार्यालय र राष्ट्रपति चुरेसरक्षण समिति, संग समन्वय नगर्दा हरेक वर्ष आउने आर्थिक सहायता अन्यत्र प्रयोग हुँदै आएको छ । यदि सामुदायिक वन समितिहरूले प्रभावकारी रूपमा सम्बन्धित निकायसँग सहकार्य गर्न सक्ने हो भने पर्यटनका लागि ठूला सम्भावनाहरू विकास गर्न सकिन्छ । लालीगुराँस र सुखाशितल सामुदायिक वनहरूको संरक्षण र व्यवस्थापनको जिम्मेवारीमा रहेका व्यक्तिहरूले प्रभावकारी नेतृत्व र सहकार्य गर्दै पर्यटन विकासको दिशामा कदम चाल्नु आवश्यक छ । वन संरक्षणको उचित योजना बनाउन सके मात्र यी वनहरूबाट न केवल पर्यावरणीय सन्तुलन कायम हुनेछ, तर आर्थिक रूपमा पनि स्थानीय समुदायलाई फाइदा पुर्याउन सकिने छ ।
तराई पोष्ट साप्ताहिक पत्रिकाबाट सभार

ताजा समाचार

Related Articles