रौतहट, २० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंले रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रीता देवीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहसहित थप ८ जनाविरुद्ध पनि गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दा बिहीबार विशेष अदालतमा दायर गरेको हो । अख्तियारले अधुरो सामुदायिक भवनमा टायल्स र फ्लोरिङको काममा उपभोक्ता समितिसँग मिलेमतो गरेर वास्तविकता भन्दा बढी क्षेत्रफल देखाएर रकम हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।
भुक्तानी सिफारिस भएको नापी किताबमा ११९४ दशमलब ४१ वर्ग मिटर भएको र वास्तविक क्षेत्रफल ४ सय ७३ दशमलब बर्ग मिटर मात्र भएको अख्तियारको दाबी छ ।
बढी देखाइएको १२ लाख ५२ हजार ९ सय ४१ रूपैयाँ ९५ पैसा बराबरको रकमलाई बिगो दाबी गरिएको हो । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह र इन्जिनियर राजेशकुमार साह तथा नगरपालिकाका सदस्य र उपभोक्ता समितिका पदाधिकारीलाई पनि प्रतिवादी बनाइएको छ ।



